ललितपुर: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मान गरिएको छ।
सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई यो अवार्ड प्रदान गरेका हुन्।
आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै ललितपुरलाई बस्नयोग्य, सम्पदामैत्री सहरका रूपमा विकास गर्न पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो। महर्जनले आफ्नो दुई कार्यकालमा साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापनलगायतका विभिन्न सार्वजनिक सेवामूलक कार्यहरू सुरु गरेका छन्।
उक्त कार्यक्रममा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट बालकृष्ण श्रेष्ठ, ‘बैंकिङ सिइओ अफ दी इयर’बाट मनोज ज्ञवाली, ‘अटोमोटिभ विजनेश एक्सिलेन्स अवार्ड’बाट मिलनबहादुर मल्ल, र ‘डिस्टिङ्गिवष्ट पर्फमेन्ट सिनेमा अवार्ड’बाट केकी अधिकारी लगायतका व्यक्तिहरू रहेका छन्।
यसका साथै, चीन, कम्बोडिया, बङ्गलादेश, मलेसिया, भुटान र थाइल्यान्डका केही व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
प्रतिक्रिया