काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आजको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।
नेपालले जितका लागि दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। अमेरिकाका लागि दुई खेलाडीले अर्धसतक बनाए। अमेरिकाका मिलिन्द कुमारले ७० र साइतेजा मुक्कामालाले ७५ रन बनाए। यस्तै शायन जहाँगिरले ३६ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएका थियो।
नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले। त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।
अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई-दुई विकेट लिए। त्यस्तै जसदीप सिंह र शुभम रन्जानेले समान एक-एक विकेट लिए।
योसँगै नेपालले लिग-२ मा १२औँ हार ब्यहोरेको छ। नेपाल १९ खेलमा ५ जितसहित १२ अंकका साथ सातौँ स्थानमा रहेको छ।
प्रतिक्रिया