हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

शनिबार, १५ कार्तिक २०८२

भक्तपुर । भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन् ।

मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए । चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाइ छ ।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिए ।

आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको उनले बताए ।

चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको उनले बताए ।

मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गरे । नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौं मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिए ।

नगरप्रमुख खत्रीले भने, चाँगुनारायण नगरभित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, यो मन्दिरको प्रचारप्रसार गरी विश्वभर यसको महत्त्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ । त्यसका लागि पनि नगरकोट भ्रमण वर्षको आयोजना गरेका हाैँ, भ्रमण वर्षभरि चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।

नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र नगरकोट भ्रमण वर्ष सचिवालयको टोलीसमेत परिचालन गरेको सचिवालयकी सदस्य एवं चाँगुनारायण नगरपालिका पर्यटन शाखाकी मीरा तिमिल्सिनाले जानकारी दिए ।

उनले मन्दिरमा स्वास्थ्य शिविर सञ्चालन, लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज र शीघ्र दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ बजेदेखि नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको जानकारी दिए ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गरेका चाँगुनारायण मन्दिर व्यवस्थापन समितिका सदस्य दिनेश थापाले जानकारी दिए । उनले बिहानदेखि परेको अविरल वर्षामा पनि दर्शनार्थीको घुइँचो लागेको बताए ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार