देउवा दम्पती पिटिँदा र ओली निवास डड्दा सेना–प्रहरीले किन हेरिरहे ?

शनिबार, २८ भदौ २०८२

काठमाडौं । जेन–जी आन्दोलनको भदौ २३ गतेको दिन हजारौंमाथि गोली प्रहार गरी ५१ भन्दा बढीको मृत्यु भएको घटनापछि भोलिपल्ट मुलुकभरको दृश्य नै उल्टियो। अघिल्लो दिन अत्यधिक बल प्रयोग गरेर कत्लेआममा उत्रिएका सुरक्षा फौज भदौ २४ गते भने रमिते बने। यस दिन नेताहरूको निजी सम्पत्ति जले, राज्यका संरचना ध्वस्त भए, तर सेना–प्रहरीले मौनता साधे।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवामाथि आन्दोलनकारीले आक्रमण गर्दा सुरक्षाकर्मी चुपचाप बसे। आरजुलाई आन्दोलनकारीले अपमानजनक व्यवहार गर्दै पिटिरहेको दृश्य सोसल मिडियामा भाइरल भयो। उता प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोट डढ्दा त्यहाँ खटिएका सेना र प्रहरी ‘मुकदर्शक’जस्तै बने। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीसमेत आफ्नो घरभित्रै डडिन्, बल्लतल्ल उनलाई अस्पताल पुर्‍याइयो।

सबैभन्दा पीडादायी दृश्य सिंहदरबार र राष्ट्रपति निवास डढेको थियो। चीनले निर्माण गरेको एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वीआईसीसी पनि खरानी भयो। सर्वोच्च अदालतदेखि देशभरका कार्यालय, प्रहरी चौकी र कारागारसमेत जल्न–ढल्न पुग्दा पनि सुरक्षाकर्मीहरू नत्साहिए न बल प्रयोग गरे।

यो मौनताको कारण बुझ्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम मन्त्रिपरिषद् बैठकतर्फ फर्कनुपर्ने देखिन्छ। भदौ २३ गतेको गोलीकाण्डपछि सरकारले छानबिन समिति बनाउने र दोषीमाथि कारबाही गर्ने निर्णय गर्‍यो। यही निर्णयले सुरक्षाकर्मीहरूलाई हच्क्यायो। विगतका आन्दोलनहरूमा आदेश दिने होइन, फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई दोषी ठहर गरिएको अनुभव भएकाले यसपटक उनीहरूले बल प्रयोग नगरेको उच्च प्रहरी अधिकारीहरूले बताएका छन्।

“बल प्रयोग गर्दा फेरि सयौं मारिन्थे र अन्ततः आयोगको प्रतिवेदनले दोष हामीमै आउँथ्यो,” एक वरिष्ठ अधिकारीले बताए, “आफ्नो जीवन र करियर दाउमा राखेर किन नेताहरूलाई जोगाउने? भन्ने ठानेर मौन बस्यौं।”

यसरी नेताहरूको सम्पत्ति जले, सरकार पल्टियो, मुलुक अराजक भयोर सुरक्षा निकाय इतिहासकै इतिहासकै ठुलो  अराजकताको साक्षी बन्यो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार