प्रमुख दलहरूको संयुक्त धारणा : संसद् विघटन असंवैधानिक, तत्काल फिर्ता लिन माग

शनिबार, २८ भदौ २०८२

काठमाडौँ : देशका प्रमुख ८ राजनीतिक दलहरूले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै तत्काल फिर्ता लिन सरकार र राष्ट्रपतिसमक्ष माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिवार संयुक्त प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद् विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्परा विपरीत छ।

जननिर्वाचित संस्थामाथि प्रहार गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य हो।”

दलहरूले संविधान र कानुनी व्यवस्थाले नै समस्या समाधान गर्ने भन्दै प्रतिनिधि सभा विघटनको निर्णय तुरुन्त फिर्ता लिन र संसद्को बैठक तत्काल बोलाउन जोड दिएका छन्।

त्यसैगरी, नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी पनि विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनरत समूहहरूको जायज मागसमेत संसदमार्फत सम्बोधन गर्नुपर्नेमा दलहरूले एकमत जोड दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार