विराटनगरमा चोरिएका भाटभटेनीका सामान घर–घर पुगेर फिर्ता गराउँदै पारुल क्षेत्री

शनिबार, २८ भदौ २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले जलाएको विराटनगरको भाटभटेनी सुपर मार्केटबाट चोरी गरिएका सामान घर–घर पुगेर फिर्ता गराइने कार्य सुरु भएको छ ।

सामाजिक अभियन्ता पारुल क्षेत्री नेतृत्वको टोलीले चोरी गर्ने व्यक्तिहरूको घरमै पुगेर सामग्री संकलन गरेर भाटभटेनीलाई बुझाउने अभियान चलाइरहेको हो । क्षेत्रीको समूहले यो समाचार तयार पार्दासम्म विराटनगरका कम्तीमा ६ घरबाट चोरी गरिएका सामग्री फिर्ता गराइसकेको छ । 

उनका अनुसार कतिपय व्यक्तिहरूले स्वेच्छाले सामान फर्काइदिएका छन् भने कतिपयलाई अभियान टोली नै पुगेर सामान फिर्ता गर्न दबाब दिएको थियो । शनिबार त्रिमूर्ति चोकमा गरिएको विशेष अभियानमार्फत पनि चोरीका सामग्री संकलन गरिएको क्षेत्रीले बताए । 

‘विराटनगर त सभ्य समाज हो भन्ने सन्देश दिन चाहेका हौं । तर, केहीले जुन किसिमले लुटपाट र आगजनी गरे, त्यसले सहरको पहिचान नै बिगार्यो । त्यसैले हामीले  ‘रिक्स’ लिएर घर–घर पुगेर चोरीका सामग्री संकलन गरिरहेका छौं,’ क्षेत्रीले भने । राजनीतिबाट टाढा भएर वृक्षारोपणजस्ता सामाजिक अभियानमा सक्रिय रहँदै आएका क्षेत्रीलाई अहिले चोरीविरुद्धको यो नयाँ अभियानमा पनि जनसमर्थन मिलिरहेको छ । 

उनले अझै पनि चोरी भएका सामान जो–सुकैसँग भए तत्कालै फिर्ता गर्न आग्रहसमेत गरेका छन् । गत मंगलबार आन्दोलनको नाममा अराजक समूहले विराटनगरको भाटभटेनीमा तोडफोड र आगजनीसँगै लुटपाट मच्चाएको थियो । 

आगलागीले सुपर मार्केट ध्वस्त भएको छ । विराटनगरसँगै धरान, दमक र बिर्तामोडका भाटभटेनीमा पनि आगजनी र लुटपाट भएको थियो । विशेष गरी धरानको भाटभटेनीमा लुटपाट गर्न पुगेका ४ जनाको जलेर मृत्यु भएको अवस्थामा शुक्रबार मात्र शव फेला परेको प्रहरीले जनाएको छ ।

क्षेत्रीको नेतृत्वमा सुरु भएको यो अभियानले विराटनगरमा लुटपाट र चोरीविरुद्ध नैतिक दबाब सिर्जना गरेको छ । उनले भने, ‘गलत गर्ने जो–कोही भए पनि कारबाही हुन्छ भन्ने सन्देश दिन चाहेका छौं । त्यसैले हामी आफैं अघि बढेका हौं ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार