इटहरी : भदौ २३ गतेदेखि देशभर राजनीतिक परिस्थितिका कारण बन्द भएका विद्यालयलगायतका सामाजिक क्षेत्र पुनः सञ्चालन गर्न विद्यालय सङ्गठनहरूको संयुक्त अपिल सार्वजनिक भएको छ।
भदौ २७ गते नयाँ प्रधानमन्त्री नियुक्त भएपछि मुलुकमा सुरक्षा संयन्त्र र नागरिक सक्रियताले शान्ति–व्यवस्था कायम भएको भन्दै विद्यालय खोल्नुपर्नेमा जोड दिइएको छ।
अपिलमा भनिएको छ, “विद्यार्थीको पठनपाठनमा बाधा पुग्ने अवस्था अब रहनुहुँदैन, शैक्षिक वातावरण सहज बनाउन सबै पक्ष सहयोगी बन्नुपर्छ।”
एन प्याब्सन सुनसरी, प्याब्सन सुनसरी र हिसान सुनसरीले जारी गरेको संयुक्त अपिलमा भदौ २९ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ।
सङ्गठनहरूले विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला सबै पक्षलाई शिक्षा क्षेत्र सहज बनाउन आग्रह गरेका छन्।
संयुक्त अपिलमा भनिएको छ, “शिक्षा अधिकार सुनिश्चित गर्न विद्यालय खुलाउनुपर्ने हाम्रो तात्कालिक आवश्यकता हो।
बालबालिकाको पढ्न पाउने अधिकारलाई प्राथमिकतामा राख्दै आइतबारदेखि शिक्षण–अध्यापन सुरु गर्न आवश्यक सहयोग गर्न सबै सरोकारवालालाई हार्दिक अनुरोध गर्दछौँ।”
शैक्षिक संस्था लामो समय बन्द हुँदा विद्यार्थीको शैक्षिक क्षति बढेको भन्दै अब कुनै पनि बहानामा विद्यालय बन्द नगर्न समेत अपिलमा उल्लेख छ।
प्रतिक्रिया