धरानमा आगजनी र तोडफोड घटनामा संलग्नविरुद्ध प्रहरीमा किटानी जाहेरी

मंगलबार, ३१ भदौ २०८२

धरान । धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न भएको आरोपमा १२ जना भन्दा बढी व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

धरानका पूर्वमेयर मनोज मेन्याङबोले आफू सञ्चालन गर्दै आएको धरान–८ स्थित कञ्चनजङ्घा होटलमा आगजनी, तोडफोड तथा नगद लुटपाटमा संलग्न समूहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन्। उनका अनुसार होटलमा तोडफोडपछि आगजनी गरिनुका साथै करिब रु.६ लाख नगद लुटिएको थियो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले घटनास्थलमा खिचिएका तस्बिर तथा भिडियो प्रमाणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरिएको जानकारी दिए। जाहेरीमा धरानका बिमल शाक्य, मिलन बान्तवा राई, दीपचन्द्र राई (कान्छी) लगायत १२ जना भन्दा बढीको नाम उजुरी परेको छ।

डीएसपी जबेगुले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताए। सोही दिन धरानमा कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट, पूर्वउपमेयर मञ्जु भण्डारी, प्रदेशसभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङलगायतका घरमा पनि आगजनी र तोडफोड भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार