हर्कको बालेनमाथि तेस्रो प्रहार : ‘विद्यार्थीको रगत बगाउनेसँग हात मिलाउन सक्दिन’

मंगलबार, ३१ भदौ २०८२

धरान : धरानका मेयर हर्क साम्पाङले काठमाडौँ महानगर प्रमुख बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत प्रहारलाई जारी राखेका छन्।

शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावलाई अस्वीकार गर्दै साम्पाङले विदेशीको इशारामा निर्दोष विद्यार्थीको रगत बगाउनेहरूसँग आफू हात नमिलाउने चेतावनी दिएका छन्।

साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्, “विदेशीको इशारामा निर्दोष विद्यार्थीहरूको रगतको होली खेल्नेहरू मसँग हात मिलाउन नखोज्दा हुन्छ। समय र इतिहासले दण्डित गर्नेछ तिमीहरूलाई। नैतिकता र वैधताको बहसमा तिम्रो हार भइरहनेछ।”

यसअघि मेयर शाहले साम्पाङको आक्रामक चुनौतीलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिँदै, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई द्रु लभ।” भनेका थिए।

कसरी सुरु भयो जुहारी?

अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री बन्ने प्रयास असफल भएपछि साम्पाङ निरन्तर सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन्। त्यही क्रममा उनले बालेन शाहलाई प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव लड्न खुलेआम चुनौती दिएका थिए।
साम्पाङले लेखेका थिए, “हारेँ भने तेरो घरमा १ वर्ष नोकर बस्छु। तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्। सक्छस्? हुतीहारा...”

साथै उनले शाह र नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालबिचको सम्बन्धमाथि समेत प्रश्न उठाएका थिए।

तर बालेनले कुनै राजनीतिक प्रतिक्रिया नदिई ‘प्रेम प्रस्ताव’ शैलीमा जवाफ दिएपछि साम्पाङ अझ झनै आक्रोशित भएको देखिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार