भोजपुर। सदरमुकाम नजिकै पर्ने सुन्तले–बाघखोर क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। यहाँ हिमशृङ्खला, अरुण उपत्यका र आसपासका रमणीय दृश्य अवलोकनसँगै स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ।
होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक आउने गरेका छन्। उहाँले सुन्तले–बाघखोर अहिले भोजपुर आउने अधिकांश पर्यटकको रोजाइमा परेको बताए।
चिसो–स्वच्छ हावापानी र सांस्कृतिक विविधताको अनुभव गर्न सकिने भएकाले पर्यटक आकर्षित भए पनि आवश्यक पूर्वाधार अभावमा व्यवस्थापन चुनौती बनेको छ।
समुद्री सतहदेखि करिब २,४०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमशृङ्खला देख्न सकिन्छ। साथै अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, सदरमुकाम भोजपुर र वरपरका दृश्य पनि अवलोकन गर्न सकिन्छ।
पर्यटकलाई लक्षित गर्दै भ्यू टावर र वनभोज स्थल निर्माण गरिएको छ। राई, शेर्पा र तामाङ समुदायको बसोबास, स्थानीय परिकार र परम्परागत भेषभूषाले पनि आकर्षण थपेको छ। सदरमुकामबाट सुन्तले करिब १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ।
प्रतिक्रिया