विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउनुपर्ने बताएका छन्। उनले आवश्यकता परे नयाँ नेतृत्व ल्याउन पनि तयार हुनुपर्ने धारणा राखे।
विराटनगरमा बिहीबार नेकपा एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन जेनजेड समूहको मात्रै नभई विभिन्न स्वार्थ समूहको पनि आन्दोलन भएको टिप्पणी गरे। उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको भन्दै सचेत रहन आग्रह गरे।
कार्कीले भ्रष्टाचारविरुद्ध उठाइएका मागलाई एमालेले पनि निरन्तर उठाइरहेको दाबी गर्दै पार्टीभित्र पनि नेतृत्वले आवश्यक सुधार गर्नुपर्ने समय आएको बताए। “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उनले भने।
उनले एमाले सरकारमा रहँदा मात्र विकासका काम अघि बढेको उल्लेख गर्दै संविधान मास्ने प्रयासले देशलाई अस्थिरतामा धकेल्ने चेतावनी दिए। साथै, प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै स्वाधीन नेपाललाई परनिर्भर हुन नदिनेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए।
भेलामा महानगर कमिटीका अध्यक्ष बलराम गिरिले युवापुस्ताको माग सम्बोधन गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतले पनि पार्टीभित्र देखिएका चुनौतीबारे धारणा राखेका थिए।
प्रतिक्रिया