मकवानपुर: जेन-जी आन्दोलनको ९ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्।
भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षाका कारण घरमै सीमित रहेका बानियाँ बिहीबार हेटौँडामा आन्दोलनबाट क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि पुगेका थिए।
मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भाटभटेनी सुपर स्टोर लगायतका सरकारी र निजी निकायहरूको अवलोकन गरे।
आन्दोलनका क्रममा उनका चारवटा निजी घर र व्यावसायिक प्रतिष्ठानमा पनि क्षति पुगेको थियो। यसबिचमा काठमाडौँमा बसेर उनले मन्त्री, सांसद र पार्टीका नेताहरूसँग छलफल गरी क्षतिको व्यवस्थापनका लागि निर्देशन दिएका थिए।
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेन-जी आन्दोलनलाई गणतन्त्र र सङ्घीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गरे। उनले भने, "यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ।"
उनले तत्काल सरकारी सेवा प्रवाह प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्थाको खोजी भइरहेको बताए। "सरकारी मात्र होइन, निजी संरचनामा भएको क्षतिको पनि मूल्याङ्कन गरेर आवश्यक कदम चालिनेछ," उनले भने।
मुख्यमन्त्री बानियाँको यो सार्वजनिक उपस्थिति र निरीक्षणलाई सरकारले क्षति व्यवस्थापन र स्थायित्वतर्फ काम सुरु गरेको सङ्केतका रूपमा लिइएको छ।
प्रतिक्रिया