सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

शुक्रबार, ०३ असोज २०८२

सिरहा । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले सहिद घोषणा गरेको छ ।  स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको हो ।

लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै सहिद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए।

यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति रु. १५ लाख राहत दिने निर्णय गरिसकेको छ ।

गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । घटनाको नौ दिनपछि मङ्गलवार उनको गाउँमा अन्तिम संस्कार गरिएको हो ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार