संविधानले ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाऔं: मुख्यमन्त्री हिक्मत कार्की

शुक्रबार, ०३ असोज २०८२

विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान सात दशकभन्दा लामो संघर्षको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई कार्यान्वयन र संस्थागत गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले संविधानको पालना, कानुनको शासन र पारदर्शितामार्फत सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

यस अवसरमा उनले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासनको मागसहितको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको लागि प्रदेश सरकारले ठोस कदम चालिरहेको चर्चा गर्दै सामाजिक–आर्थिक विकासलाई तीव्र गति दिनुपर्नेमा जोड दिए।

संविधान कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधानका लागि आवश्यक परेमा विधिपूर्वक संविधान संशोधनमार्फत राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको धारणा थियो। उनले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गरेर समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीका अनुसार संविधान दिवस सबै नेपालीलाई आवेगभन्दा माथि उठेर विवेकसम्मत ढंगले राष्ट्रको सर्वोपरि हितलाई प्राथमिकता दिने प्रेरणा दिने दिन हो। संविधान दिवसकै अवसरमा कोशी प्रदेश सरकारले विविध कार्यक्रम आयोजना गरेर राष्ट्रिय दिवस मनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार