काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् ।
शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे ।
उनले भने,‘जति बेला हामीले विद्रोह सुरु गरेका थियौँ, त्यो बेला पनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुबिधामा नपरौँ ।’
त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन आफूले भूमिका खेलेको पनि उनको दाबी छ ।
‘मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । मैँले अन्तिममा समस्याको सहजीकरण गर्नेक्रममा रातभर बसेर राष्ट्रपति, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारमा गएर भएपनि संविधान बचाउनुपर्छ भनेर आग्रह गरेको हुँ,’उनले भने ।
उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको भन्दै त्यो बेला आफूहरूको माग सुनेको भए अहिले जेनजी आन्दोलन गर्नुपर्ने अवस्था नआउने पनि धारणा राखे ।
‘सङ्ख्याका बलमा हाम्रो आवाज बेवास्ता गरियो । धेरै अहङ्कार ठूला भन्ने पार्टीहरूले गरे । यस्तो अहङ्कारका कारण ति पार्टीलाई भोलि जनताले बढार्छन् भनेर मैले त पटक पटक भनेको थिए । यस्तो अहङ्कारको मूल्य धेरै चर्को पर्नेछ । जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ र यो कुनै बेला विस्फोट हुनसक्छ मैले श्रीलङ्का र ंबंगलादेशको घटना स्मरण गराएको थिए । त्यसैको अभिव्यक्तिको रूपमा जेनजी आन्दोलन भयो ।’
प्रतिक्रिया