काठमाडौँ । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका भाटभटेनी सुपरमार्केटहरू सबैभन्दा बढी प्रभावित भए पनि संस्थाले कर्मचारीलाई ननिकाल्ने घोषणा गरेको छ ।
आन्दोलनका क्रममा १२ वटा स्टोर पूर्ण रूपमा नष्ट हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँसम्मको क्षति पुगेको अनुमान गरिएको छ । यति ठूलो आर्थिक क्षति भोगे पनि सञ्चालक मीनबहादुर गुरुङले आफ्नो निर्णय स्पष्ट पार्दै भने, “मसँग आबद्ध भाइबहिनीहरूको भविष्यका लागि लड्नुपर्ने छ । काम गर्न नपाए पनि उहाँहरूको तलब दिन्छु । भदौको तलब मात्र होइन, दशैं बोनस पनि पठाउँछु ।”
गुरुङले आफ्ना कर्मचारीलाई परिवारका सदस्यका रूपमा लिँदै दशैं बोनस दिने आश्वासन पनि दिएका छन् । उनले थपे, “म चाहिँ दशैं मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरू जो मसँग आबद्ध छन्, उनीहरूले दशैं मान्नुपर्छ नि । त्यसैले दशैंको बोनस पनि पाउँछन् ।”
उनका अनुसार भाटभटेनीले तीन महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्र सबै स्टोर सञ्चालनमा ल्याउने योजना बनाएको छ । क्षतिको यकिन नआए पनि १५ अर्बसम्म नोक्सानी पुगेको अनुमान गरिएको उनले बताए । गुरुङले भने, “सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ । फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ ।”
उनले पैसा कमाउने उद्देश्यभन्दा बढी रोजगारी सिर्जना र देशको समृद्धिमा योगदान दिन व्यापारी बनेको दाबी गरे । “पैसा कमाउँ भन्ने मात्र सोच होइन, रोजगारी सिर्जना होस्, सबै जना सम्पन्न होऔं, देश बनोस् भनेर व्यापार गरेको हुँ,” उनले स्पष्ट पारे ।
प्रतिक्रिया