काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा आफ्नै बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेर १२ वटा टाँका लगाइएको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा देउवाको स्वास्थ्यबारे जानकारी दिँदै भने, ‘हामी सुरुमा अतालिएका थियौँ। उहाँहरू (देउवा र आरजु देउवा) अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। अहिले अवस्था निको हुँदै गएको छ।’
उनका अनुसार चिकित्सकहरूले धारिलो हतियार प्रहारबाट चोट लागेको निष्कर्ष निकालेका छन्। तर कसले, कुन हतियारले प्रहार गर्यो भन्ने तथ्य भने अहिलेसम्म खुलेको छैन।
गत भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि सहभागीहरूले देउवाको निवासमा आगजनी र तोडफोड गरेका थिए। सो क्रममा घरमै रहेका देउवा दम्पत्तीमाथि आन्दोलनकारीले आक्रमण गर्दै हातपात गरेका थिए। कुटपिटका कारण दुवैजनाको शरीर रगताम्य भएको थियो।
घटनाप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ। प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘लोकतन्त्रका लागि अविचल योगदान गर्नु भएका पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति कांग्रेस कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ।’
प्रतिक्रिया