गत भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) हाम्रो जेनेरेशन जेड युवाहरुले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै उज्ज्वल भविष्यको लागि गरेको आन्दोलन असल र उच्च उद्देश्य बोकेको थियो । यस्तो सकारात्मक दृष्टिकोणबाट भएको शान्तिपूर्ण अभियानप्रति हाम्रो पूर्ण समर्थन छ र भविष्यमा पनि रहनेछ ।
यस क्रममा शहीद भएका वीर युवाहरूप्रति म गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु । उनीहरूको साहस सदैव न्याय र परिवर्तनको मूल्यमा अंकित रहनेछ ।
तर, यसै क्रममा हाम्रा आदरणीय संस्थापक अध्यक्ष बिनोद चौधरीज्यू लगायत मीनबहादुर गुरुङ, हेमराज ढकाललगायतका उद्योगी–उद्यमीका उद्योग, पसल, शोरुम, निवास र अन्य सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनी हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ । मेहनत, लगानी र समर्पणका प्रतीक यस्ता सम्पत्तिमाथि आक्रमण हुनु केवल व्यक्तिको नभई राष्ट्रकै क्षति हो ।
निजी क्षेत्र केवल व्यवसायिक समूह मात्र होइन, यो राष्ट्रको विकासको मेरुदण्ड हो । यसले लगानी गर्छ, राजस्व सिर्जना गर्छ, रोजगारी दिन्छ, आवश्यक वस्तु र सेवा उत्पादन गर्छ र आत्मनिर्भर नेपालको सपना अघि बढाउँछ । यस्तो संरचनामा प्रहार गर्नु देशलाई नै कमजोर पार्ने काम हो, जसलाई कहिल्यै स्वीकार गर्न सकिँदैन ।
राज्यको प्रमुख जिम्मेवारी नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो । सार्वजनिक मात्र होइन, निजी सम्पत्तिको संरक्षण गर्नु, प्रत्येक नागरिकलाई स्वतन्त्रतापूर्वक बोल्ने, हिँड्ने र व्यवसाय गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य हो । आन्दोलनको नाममा हिंसा र क्षति मच्चाउनेहरूलाई छानबिन गरी कानूनी कारबाही गर्नु अनिवार्य छ ।
इतिहास र विश्वव्यापी अनुभवले देखाएको छ—निजी क्षेत्रको योगदान र सम्मान बिना कुनै देशले दीगो प्रगति र समृद्धि हासिल गर्न सकेको छैन । सफल मुलुकहरूले लगानीकर्तालाई इज्जत, सुरक्षा र प्रोत्साहन दिएका कारण नै प्रगतिशील बनेका छन् । नेपालले पनि त्यही बाटो लिनैपर्छ ।
नेपाल उद्योग परिसंघले यस प्रसङ्गमा आफ्नो धारणा स्पष्ट पार्दै सबै सरोकारवालासँग संवाद, बहस र प्रभावकारी पैरवीमार्फत सहकार्य गर्ने निर्णय लिएको छ । चाहे अन्तरिम सरकार होस्, जेनेरेशन जेडका साथीहरू, राजनीतिक दल वा अन्य पक्ष—हाम्रो सन्देश स्पष्ट छः राष्ट्रिय विकास र समृद्धिको सवालमा हामी दृढ, सकारात्मक र रचनात्मक छौं ।
यदि यस्ता विनाशकारी घटनाहरू रोकिएनन् भने परिणाम गम्भीर हुनेछन्, उद्योगी पलायन, पूँजी बाहिरिने, उत्पादन थुनिने, आपूर्ति श्रृंखला भंग हुने, आर्थिक गतिविधि अवरुद्ध हुने। यसले देशलाई अराजकता र राज्य असफलतामा पु¥याउन सक्छ ।
त्यसैले, हामी सबै मिलेर लगानी सुरक्षित गर्ने, उद्योग जोगाउने र निजी क्षेत्रको गरिमा कायम राख्ने साझा जिम्मेवारी लिनुपर्छ । यसरी मात्र हामीले अर्थतन्त्रको आधार जोगाउन, युवाको भविष्य सुरक्षित गर्न र आत्मनिर्भर, समृद्ध नेपाल निर्माण गर्न सक्छौं ।
भीम घिमिरे,
उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
प्रतिक्रिया