कांग्रेसको यात्रा कता ?

शुक्रबार, २८ कार्तिक २०८२

जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ । नयाँ पार्टी दर्ता गर्ने होडबाजी एकातिर देखिन्छ भने अर्कोतर्फ पुराना दलहरूभित्र पनि आन्तरिक मतभेद र टुटफुटको शृङ्खला व्यापक चलिरहेको छ ।

सुरुमा मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको कुरा गरौँ । नेपाली कांग्रेस जेनजी आन्दोलनपछि सबैभन्दा बढी क्षति बेहोर्ने पार्टी हो । सबै नेताले भागेर ज्यान जोगाएको माहौलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ आरजु राणा देउवा घरमै मरणासन्न हुने गरी कुटिए, आक्रमणमा परे । 

कांग्रेस नेताका घरहरू छानीछानी जलाइए, केन्द्रीय पार्टी कार्यालय र ४८ जिल्लाका भवनहरू ध्वस्त पारिए । लोकतान्त्रिक आन्दोलनका धरोहर मानिने कोइराला निवास, चाक्सीवारि, किसुनजीको आश्रम भग्नावशेषमा परिणत भए । 

यस्तै अवस्था एमाले पार्टीको पनि भयो । अध्यक्ष तथा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको निवास जलाइयो अन्य एमाले नेताहरूको पनि घर जलाइए पार्टी कार्यालयहरू पनि कांग्रेसकै जस्तो बनाइयो । 

लोकतन्त्रकालागि यति लामो सङ्घर्ष र बलिदान गरेका दलका नेता र पार्टीमाथि गरिएको यो सर्वनासलाई केवल जेनजी आन्दोलनको सामान्य घटनाकारुपमा लिने गल्ती हामीले ग¥यौ भने यो ऐतिहासिक भुल हुनेछ । 

आन्दोलनका क्रममा नवजवानाको ज्यान गएको छ । खर्बौँको सम्पत्ति र सम्पदा नष्ट गरिएको छ । सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, संसद् भवनजस्ता राष्ट्रका धरोहर मानिने ऐतिहासिक भवन ध्वस्त पारिएको छ । त्यहाँ रहेका देशका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । 

मन्त्री निवास र अन्य सरकारी भवनहरू, पार्टीका कार्यालयहरू निजी तथा व्यावसायिक घर तथा भवनहरू सबैको सत्यानाश गरिएको छ । सरकारी सम्पत्ति कति क्षति भयो यसको आकलन अझै भइसकेको छैन । आन्दोलनबाट निजी क्षेत्रमा मात्रै ८० अर्बको क्षति भएको आकलन छ । सरकारी तथा निजी समग्रमा खर्बौँको भौतिक क्षति आन्दोलनका क्रममा भएको छ । यसको पुनर्निर्माण र समग्र मनोबल बढाउनु पर्ने अवस्था रहेको छ ।

यी घटना सामान्य होइनन् । लोकतन्त्र समाप्त गर्ने, संविधानसभा मार्फत बनेको वर्तमान संविधान खारेज गर्ने र नेपालको सार्वभौमिक अधिकार समेत खोस्ने ग्राण्ड डिजाइन अन्तर्गत यी सबै काम भएको पाइन्छ । 

यस्तो वेलामा सहमति, सहकार्य र एकताका माध्यमबाट सबै राजनीतिक दल र शक्तिहरू एकजुट भएर देश, लोकतन्त्र र संविधानको रक्षा गर्दै अघि बढ्नु पर्ने खाँचो टड्कारो देखिन्छ । तर गतिविधि भने उल्टो छ । सबै राष्ट्रिय शक्तिहरू एकजुट हुनु त कता हो कता दलहरूभित्रै आन्तरिक किचलो र टुटफुटको शृङ्खला चलिरहेको छ । 

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने झगडाले अझै निकास पाउन सकेको छैन । यसलाई धेरैले कांग्रेस पार्टी फुटको नजिक पुगेको पनि भन्न थालेका छन् । काग्रेसलाई फुटाउने कसरत निरन्तर जारी छ । सुझबुझका साथ कांग्रेसले आफूलाई सम्हाल्छ कि फुटपरस्तहरुको लहैलहैमा लागेर आफूलाई समाप्त गर्ने डिजाइनमा संलग्न हुन्छ त्यो हेर्न बाँकी नै छ । 

एमालेलाई पनि फुटाउने कसरत जारी नै छ । माओवादी केन्द्र भने औपचारिक रूपमै फुटेको छ । रास्वपा र राप्रपामा समेत आन्तरिक किचलो मिलेको देखिँदैन । यी सबै परिदृश्यमा मूल प्रश्न चाहिँ नेपाली कांग्रेस के हुन्छ भन्नेमै अड्केको छ । 

पार्टी सभापति शेरबहादुर देउवा जेन जी आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचाररत रहेकै बेला उनलाई हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु हुनु, संस्थापन पक्ष वैशाखमै नियमित महाधिवेशन गर्ने, अहिले विशेष महाधिवेशन नगर्ने अडानमा रहनु । 

अर्को समूहले महाधिवेशन पुसमै गर्नुपर्ने नभए विशेष महाधिवेशन गर्नै पर्ने अडान राख्नु, अझै संस्थापन पक्ष फागुन २१ को चुनावपछि महाधिवेशन गरौँ भन्ने तर इतर पक्ष अर्थात् शेखर कोइरालाको समूह त्यस अगावै गरौँ भन्ने । त्यतिमात्र नभएर महामन्त्री समूह त्यो पनि होइन विशेष महाधिवेशन नै गरौँ भन्ने । यस्तो गोलचक्ककरमा कांग्रेस अल्झेको एक महिना नाघिसक्यो । 

निकास अझै निस्कँदैन । किन त ? जवाफ प्रस्ट छ । नेपालमा जेनजी आन्दोलन पछिको समग्र अवस्थापछि निक्कै ठुलो शक्ति नेपाली कांग्रेसलाइ फुटाउने ग्राण्ड डिजाइनमा छ । कांग्रेसलाइ छिन्नभिन्न नपारेसम्म नेपालको सार्वभौमिक अधिकार, लोकतन्त्र र संविधान समाप्त गर्न सकिँदैन भन्ने निष्कर्षमा अदृश्य शक्तिहरू लागिरहेकै छन् । 

हरेक आन्दोलन र परिवर्तनको मियो शक्ति नेपाली कांग्रेस आज किन यस्तो अवस्थामा पुग्यो त ? यो कठिन समयमा कांग्रेसले आफूलाई अब्बल प्रमाणित गर्न सकेन भने न रह्यो वास न बज्यो मुरली भनेझैँ हुनेछ । 

अवस्था कस्तो छ भने सर्प भ्यागुतो खान खोज्दै छ, भ्यागुतो किरा टिप्न खोज्दै छ । कांग्रेस फुटाउने ग्राण्ड डिजाइन एकातिर चलिरहेकै छ, कांग्रेस भने आफै अन्तरविरोधमा रुमल्लिइरहेको छ । तसर्थ कांग्रेसले कति सक्दो छिटो आन्तरिक किचलो समाधान गरेर एकजुट रहेको सन्देश दिन ढिला गर्नुहुँदैन । 

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कांग्रेस नेताहरूले यो सुझबुझ देखाउँछन् कि अदृश्य शक्तिको चाहना पुरा गर्ने मतियार बन्छन् त्यो भने प्रतीक्षाकै विषय रहेको छ ।
 

प्रतिक्रिया

विजयराज अधिकारी
लेखकको बारेमा
विजयराज अधिकारी

३ दशक अघि देखि पत्रकारिता क्षेत्रमा सक्रिय

सम्बन्धित समाचार