आगजनी र तोडफोडपछि विराटनगरको सेवा आंशिक रूपमा सुरु, १३ वडा प्रभावित

आइतबार, ०५ असोज २०८२

विराटनगर  । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते विराटनगर महानगरपालिकामा भएको आगजनी र तोडफोडले महानगर र १३ वटा वडा कार्यालयमा व्यापक क्षति पुर्‍याएको छ । 

आगजनीका कारण ५ वडा कार्यालय पूर्णरूपमा नष्ट भएका छन् भने बाँकी वडामा आंशिक क्षति पुगेको छ । यस घटनापछि महानगरपालिकाको कार्यालय सञ्चालन शून्य अवस्थामा पुगेको थियो ।

उपमेयर शिल्पा निराला कार्कीले आन्दोलनका क्रममा कार्यालयका कागजात, दस्तावेज, अत्यावश्यक सवारी साधन, डोजर र मिनी ट्रक जस्ता विपद् प्रयोजनका साधन जलाइएको बताइन् । तर, नागरिकलाई अत्यावश्यक सेवा अवरुद्ध नहोस् भनेर क्षतिग्रस्त कार्यालयबाटै आंशिक रूपमा सेवा सुरु गरिएको उनको भनाइ छ । 

स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ भने राजस्व र कानुन शाखाका सेवाहरू क्रमशः सुचारु गरिँदैछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार आगजनीले व्यापक क्षति पुर्‍याएपछि अहिले पूर्णरूपमा सेवा सञ्चालन सम्भव छैन । ‘आगोले खरानी बनाउँदा महानगर शून्य अवस्थामा पुगेको छ । कार्यालयभित्र र बाहिर प्रयोग हुने टेबल, कुर्सी, कागजात र गाडी, फोहोर उठाउने तथा पानी हाल्ने उपकरण जलेका छन् । साधन स्रोतको हिसाबले अहिले हामीसँग न्यूनतम पनि उपलब्ध छैन,’ उनले भने । 

क्षतिग्रस्त वडामा आंशिक सेवाको व्यवस्था मिलाउन दुईवटा डेस्कटप र प्रिन्टर उपलब्ध गराइएको छ । उपमेयर कार्कीले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता र कर्मचारीको दसैं भत्ता कटौती गरिने छैन । अब पुनर्निर्माणको काम अघि बढाइनेछ । स्थानीय व्यवसायीसँग पुनर्निर्माणमा सहकार्य सुरु गरिएको छ । तर, प्रदेश र संघीय सरकारबाट अहिलेसम्म कुनै प्रत्यक्ष सहयोग प्राप्त भएको छैन ।’

महानगरपालिकाले क्षतिको विस्तृत विवरण संकलन गर्दै सरसफाइ अभियान पनि सञ्चालन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार, नक्सा, राजस्व र घरजग्गासम्बन्धी महत्वपूर्ण कागजातहरूमा अधिकांश जलेर नष्ट भएका छन् । यस परिस्थितिमा कार्यालय सञ्चालनका लागि आवश्यक न्यूनतम सामग्री पनि उपलब्ध छैन ।

उपमेयर कार्कीले नागरिकलाई सेवामा व्यवधान नआओस् भन्ने लक्ष्यसहित आंशिक सेवा सुरु गरिएको बताइन् । तर, सम्पूर्ण पुनर्निर्माण र साधन स्रोतको व्यवस्थाका लागि अझै समय र सहयोग आवश्यक रहेको उनले जोड दिइन् ।

विराटनगरमा भएको आगजनी र तोडफोडले महानगर र नागरिक दुवैका लागि चुनौती सिर्जना गरेको छ । आंशिक सेवा सुरु भए पनि पूर्ण रूपमा कार्यालय सञ्चालन र साधन स्रोतको पुनर्स्थापना ठूलो चुनौती देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार