काठमाडौँ । काममा चमत्कारिक छवि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जनताको उद्धारमा भने कुनै चमत्कार देखाउन नसकेको आरोप लागेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले मुग्लिङ–नारायणगढ सडकखण्डमा हजारौँ यात्रुहरू तीन दिनदेखि भोकै–प्यासै अलपत्र परेको बेला मन्त्री घिसिङ भारतीय राजदूतसँग भेटघाटमा रमाएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
असोज ३ गते साँझ साढे ६ बजे मुग्लिङ नारायणगढ सडकअन्तर्गत तुइन खोला पुल नजिक खसेको ठूलो पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा, कहिले पाँचवटा लोडर र एउटा एक्जाभेटरमार्फत पहिरो हटाउने काम गरिरहेको भए पनि पर्याप्त स्रोत परिचालन नगरेर जनतालाई कष्टमा छोडिएको अध्यक्ष राईको आरोप छ ।
उनका अनुसार भरतपुरदेखि नागढुङ्गासम्म करिब ३५ हजार सवारीसाधनमा काम गर्ने करिब ८० हजार यातायात मजदुर र करिब ५ लाख यात्रु तीन दिनदेखि अलपत्र परेका छन् । संगठनले पटक–पटक सबै शक्ति प्रयोग गरेर पहिरो तत्काल पन्छाउन माग गरे पनि सरकार उदासिन रहेको राईले दुःखेसो पोखे ।
यता, यात्रुहरू अत्यन्तै संकटमा परेको गुनासो गरिरहेका छन् । काठमाडौँबाट धनगढी जाँदै गरेका ललित चन्दले तीन दिनदेखि बाटोमै रात बिताउनुपरेको बताए । उनले रमाइलो डाँडाबाट सात घण्टा हिँडेर तुइन खोला पुलसम्म पुगेका थिए । चन्दका अनुसार बाटाभरि हजारौँ यात्रु महिला, बालबालिका, वृद्धवृद्धा र बिरामीसहित मारमा परेका छन् । कतिपय यात्रु खर्चविहीन बनेका छन् भने कतिपय ठाउँमा बाटो एकतर्फी खुलाउन सकिने अवस्था हुँदाहुँदै पनि प्रशासनले रोक्दा वादविवाद समेत भएको छ ।
चन्दले भने, “पानी खान पाइएको छैन, खाना खान पाइएको छैन, कम्तिमा बजार नजिकै पुग्न पाइयो भने केही व्यवस्था हुन्थ्यो भन्ने यात्रुहरुको आवाज छ । तर सरकार मौन छ ।”
असोज ३ गतेदेखि मुग्लिङ–भरतपुर ३६ किलोमिटर सडक र मुग्लिङ–नागढुङ्गा करिब १०० किलोमिटर सडक पूर्ण अवरुद्ध छ । सरकारले समयमै प्रभावकारी कदम नचाले यात्रु र मजदुरहरूको पीडा अझै लम्बिने देखिन्छ ।
प्रतिक्रिया