इलाम । इलाम नगरपालिका–१ शाखेजुङका प्रकाश राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। आइतबार बिहान करिब १० बजे भएको घटनामा ४५ वर्षीय राईले श्रीमती टिकामाया मुखियामाथि खुकुरी प्रहार गरेका थिए।
इलाम प्रहरीका सूचना अधिकारी डिएसपी सन्जिव बोगटीका अनुसार खुकुरी प्रहारबाट मुखियाको टाउको र बाँया हातमा गम्भीर चोट लागेको छ। राईलाई खोजतलास गर्ने क्रममा घर नजिकै झिंगीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि रक्से प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोजन नेम्वाङको कमाण्डमा गएको टोलीले घाइते टिकामायालाई उद्धार गरी जिल्ला अस्पताल इलाम पुर्याएको थियो। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई झापाको विर्तामोडस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घाइते मुखियाको अवस्था गम्भीर रहेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको डिएसपी बोगटीले जानकारी दिए। यसैबीच, घटनास्थललाई सुरक्षित बनाउन प्रहरी टोली परिचालन गरिएको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाम मंगलबारेबाट प्रहरी नायब निरीक्षक मोहनलाल आँगा श्रेष्ठको कमाण्डमा पाँच जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया