सुर्खेत । कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पु¥याउन सडक बाधक बन्दै आएको छ । कर्णाली करिडोर बर्सेनि बर्खा लागेपछि अवरुद्ध हुने गरेकाले यहाँका किसानलाई स्याउ बजारमा पु¥याउन समस्या हुने गरेको छ । त्यसैले किसानले उत्पादन गरेको स्याउ बारीमै थन्किने गरेको छ ।
सडक अवरुद्ध हुँदा सबैभन्दा बढी जुम्ला, मुगु र हुम्लाका किसानलाई घाटा हुन्छ । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा ह्रास आएको छ । यस वर्ष असिना–पानी र खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउको गुणस्तर र गुलियोपन जाँचेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।
“स्याउ उत्पादन, निर्यात र आम्दानीको तथ्याङ्क सङ्कलन गर्न थालेका छौँ”, उनले भने । व्यापारीले बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका उनले बताए । किसानले बगैँचाबाटै प्रतिकिलो ७० मा स्याउ बिक्री गरिरहेका छन् । विगतमा कृषि विकास कार्यालयले स्याउको मूल्य तोक्ने गरेको भए पनि यसपालि किसान आफैँले मूल्य तोकेर बेच्दैछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोनले किसानलाई ११ हजार कार्टुन बाँडेको छ । त्यही कार्टुनमा किसनले स्याउ बिक्री गरिरहेका छन् । सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँलगायत सहरमा जुम्लाको स्याउ बिक्री गर्ने गरिएको छ ।
जुम्लामा चार हजार ४०० हेक्टरमा स्याउखेती गरेपनि यसपालि दुई हजार ९०० हेक्टरमा मात्र फल लागेको कार्यालय प्रमुख अधिकारीले बताए । “स्याउले किसानको जीवनशैली बदलेको छ, तर ढुवानी गर्न सहज छैन”, उनले भने । जुम्लामा रेड, रोयल, जोनाथन, गोल्डेन, गाला, फुजी र जोनाप्रिन्स जातको स्याउखेती गरिएको छ । गत भदौ पहिलो सातादेखि त्यहाँ स्याउ टिप्न थालिएको हो । कर्णाली करिडोरको कालिकोट खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने गरेको छ । स्याउ बोकेका सवारीसाधन हप्तौँ कर्णाली करिडोरमै थन्किने गरेको छन् ।
यस्तै डोल्पामा उत्पादन हुने स्याउ भेरी करिडोरमा पुल नभएका कारण बिक्री गर्न समस्या भएको किसानले बताएका छन् । भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाड, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ को रिजीगार, उसुमखोलामा पुल निर्माण नहँुदा किसानलाई स्याउ बिक्री गर्न समस्या भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष स्याउखेतीको क्षेत्र विस्तार गरिएको कृषि विकास कार्यालय, डोल्पाका निमित्त कार्यालय प्रमुख सरद लामाले बताए ।
त्रिपुरासुन्दरी–४ का पवन बुढाले स्याउ किन्न व्यापारी बगैँचामै आएका बताए । उनले बगैँचाबाटै प्रतिकिलो रु ५५ मा स्याउ बिक्री गरे । “सडक सुविधा नभएकाले उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भने ।
त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले प्रत्येक परिवारले स्याउ बिक्री गरी यस वर्ष रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरेको बताए । विसं २०७५ मा डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यातायात सेवा भरपर्दो छैन । एक सय १८ किलोमिटर लामो भेरी कोरिडोरअन्तर्गत तल्नुबगरदेखि दुनैसम्मको ६२ किलोमिटर सडक कच्ची छ । बर्खामा यही बाटो पनि बन्द हुन्छ । बोकेरै स्याउ बिक्री गर्न लैजानुपर्ने हुन्छ ।
प्रतिक्रिया