सम्बन्धविच्छेदः परम्परागत नेपाली समाजमा बढ्दो चुनौती

सोमबार, ०६ असोज २०८२
साङ्केतिक तस्बिर

झापा । झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर गएका सुमन आठ वर्ष उतै बसे । यो बीचमा घरमा निरन्तर श्रीमती र छोरीहरुसँग कुराकानी भइरहन्थ्यो । घरमा बाबुआमासँग कुरा नमिलेपछि श्रीमान् मलेसिया गएको एक वर्षपछि नै श्रीमती छोरीहरु लिएर माइतीघरमा बस्दै आएकी थिइन् ।

माइतीघरमा बसे पनि सुमनसँग निरन्तर कुरा भइरहने र उनले पनि मलेसियाबाट नियमित खर्च पठाइरहेका थिए । मलेसिया गएको आठ वर्षपछि जब सुमन नेपाल फर्किन लागे काठमाडौँ विमानस्थल पुग्नेबेलासम्म उनको श्रीमतीसँग सम्पर्क भइरहेको थियो । तर काठमाडौँबाट झापा पुगेपछि मोबाइलमा सम्पर्क गर्दा श्रीमतीको मोबाइलको स्वीच अफ देखायो, सम्पर्क नै हुन सकेन ।

सुमन आफ्नो घर पुगेपछि श्रीमतीको आमासँग सम्पर्क गर्दा मेरो छोरी तपाईंसँग बस्दैन सम्बन्घबिच्छेद गर्नुप¥यो भन्ने शब्द सासुआमाको मुखबाट सुन्नुपर्दा सुमनलाई आधा ज्यानै खोसिए जस्तो भयो । आठ वर्षसम्म विदेशमा हुँदा नियमित सम्पर्क भइरहेको श्रीमतीले एक्कासी सम्बन्धबिच्छेदका लागि तयार भएपछि १३ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्नुपर्ने अवस्था आयो ।

झापाको मेचीनगरकी सरिता र राकेशले अन्तरजातीय प्रेम विवाह गरे । दुवैका परिवारले उनीहरुको प्रेम विवाहलाई स्वीकार नगरेपछि भागेर मन्दिरमा गई विवाह गरेका थिए । विवाहपछि ज्याला मजदुरी गर्दै बजारमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरुको विवाहको दुई वर्षपछि छोराको जन्म भयो । छोरा जन्मिएपछि राकेशको परिवारले सबैलाई घरमै बोलायो ।

घरमा बोलाएको एक महिनापछि नै सरिताले विभिन्न किसमका यातनाको सामना गर्नुप¥यो । घरको सबै काम गरे पनि केही गर्दैन, राम्रोसँग काम गर्न नि आउँदैन, कसकी छोरी, केही पनि नसिकाएका लगायतका मानसिक तनाव राकेशको परिवारले दिन थाल्यो । माया गरेर प्रेम गरेका राकेशको पनि विस्तारै व्यवहारमा परिवर्तन आउन थाल्यो । घरपरिवारको उक्साहटमा राकेशले पनि जाँडरक्सी खाएर आउने गालीगलौज गर्ने, हातपात गर्ने, खान लाउन नदिने, चरम यातना दिनेलगायतका कार्य गर्न थाल्यो ।

राकेश र उनको घरको यातना चरम विन्दुमा पुगेपछि सहन नसकेर सरिताले आफन्तको सहयोगमा सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरिन । अदालतले मुद्दा मिलापत्रको लागि दुवैलाई मेलमिलापकर्ता कहाँ पठायो । त्यहाँ मिल्ने सहमति गरेर आउने घरमा पुगेको २÷३ दिनपछि पुरानै व्यवहार देखाउन थालेपछि अन्तिममा सरिताले अंशसहित सम्बन्धबिच्छेदका लागि अपिल गरिन ।

यी मात्र दुई उदाहरण मात्र हुन् । यस्तै कैयौं घटनाहरू अहिले देशका हरेक शहर र गाउँमा दोहोरिइरहेका छन् । नेपालजस्तो पारिवारिक सम्बन्धलाई अगाडि राख्ने परम्परागत समाजमा विवाहलाई ‘अटुट बन्धन’ र ‘पवित्र सम्बन्ध’को रूपमा लिइन्छ । तर पछिल्ला केही वर्षयता यो परम्परागत सोचमा ठूलो परिवर्तन आएको छ । विवाह टिकाउन नसक्ने र एकअर्कासँग जीवन बिताउन नसक्ने अवस्थामा सम्बन्धविच्छेद गर्न तयार रहेका पति–पत्नीबीचको संख्या तीव्ररूपमा बढिरहेको छ । एक दशकअघि फाटफुट मात्रै अर्थात दुर्लभ घटना मानिने सम्बन्धविच्छेद अहिले दैनिक समाचारमा सुन्न, पढ्न र देख्न सकिन्छ ।

यस प्रवृत्तिले हाम्रो समाजमा नयाँ खालका सामाजिक, मनोवैज्ञानिक, कानुनी र आर्थिक समस्या जन्माइरहेको छ । सर्वोच्च अदालतको आर्थिाक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनअनुसार अदालतहरुमा सबैभन्दा बढी मुद्दा परेको विषय सम्बन्धबिच्छेद रहेको थियो । उक्त आर्थिक वर्षमा ४० हजार तीन सय २० जनाले वैवाहिक सम्बन्ध अन्त्यका लागि मुद्दा दायर गरेका थिए । यस तथ्याङ्कलाई हेर्दा नेपालमा औसतमा दैनिक एक सय १० जना भन्दा बढीले सम्बन्घविच्छेदका लागि अदालतहरुमा निवेदन दिने गरेका छन ।

झापा जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा एक हजार तीन सय ४३ जनाले सम्बन्घविच्छेदका लागि मुद्दा दायर गरेका थिए । उक्त तथ्याङ्कअनुसार औसतमा झापा जिल्लामा दैनिक चार जनाले वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको देखिन्छ । पछिल्लो समय झापा जिल्ला सबैभन्दा बढी सम्बन्धविच्छेद हुने प्रमुख जिल्लाहरुको सूचीमा पर्दै आएको छ ।

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिको अनियन्त्रित प्रयोग सम्बन्धविच्छेदका प्रमुख कारण भएको सामाजिक अभियन्ता दयानन्द गोश्वामी बताउँछन् । श्रीमान वा श्रीमती विदेशमा लामो समय अलग बस्दा पारिवारिक सम्बन्ध कमजोर हुन्छ । सामाजिक सञ्जालमार्फत नयाँ सम्बन्ध सुरु गर्ने, अर्को साथी भेट्ने वा अनलाइनमा बढ्दो आकर्षणले पनि विवाहमा खलल पु¥याइरहेको छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा सम्बन्धविच्छेदपछि महिलामाथि अझै दोष थुपारिन्छ । पुनःविवाह गर्न कठिनाइ हुने, परिवार र समाजमै स्वीकार्यता पाउन गाहे हुने अवस्था सिर्जना हुन्छ । खस क्षेत्री समाजका अध्यक्ष खड्कबहादुर खड्का भन्छन्, “नेपालजस्तो परम्परागत समाजमा सम्बन्धविच्छेद केवल व्यक्तिगत होइन, सामूहिक कलङ्कको रूपमा हेरिन्छ ।”

अधिवक्ता नरेश खाती भन्छन्, “मुलुकी देवानी संहिता २०७४ ले दुवै पक्षलाई सम्बन्धविच्छेद गर्ने समान अधिकार दिएको छ, तर व्यवहारमा यो सजिलो छैन । कानुनी प्रक्रिया लामो, खर्चिलो र सामाजिक रूपमा अझै नकारात्मक दृष्टिले हेर्ने मानसिकता बलियो छ । यसैले पीडितहरू अदालतसम्म पुग्न हिच्किचाउँछन् ।” विदेश अध्ययन वा डिपेन्डेन्ट भिसामा विवाह गरेर जाने, अनि त्यहाँ पुगेपछि सम्बन्धविच्छेद गर्ने घटनाहरू पनि बढेको अधिवक्ता खातीको भनाइ छ । पछिल्लो समय ४० वर्ष माथिका व्यक्तिहरूमा सम्बन्धविच्छेद बढी देखिनु अर्को रोचक तथ्य हो ।

सम्बन्धविच्छेदपछि दुवै पक्षलाई मानसिक आघात हुन्छ । तर सबैभन्दा बढी असर सन्तानमा देखिन्छ । उनीहरू असुरक्षित, आत्मविश्वासहीन र कहिलेकाहीँ आक्रामक बन्न सक्छन् । त्यसैले सम्बन्धविच्छेदलाई केबल कानुनी प्रक्रिया नभई मनोवैज्ञानिक उपचारसँग पनि जोड्नुपर्ने भद्रपुर नगरपालिकाका नगर उपप्रमुख राधा कार्की बताउँछन् ।

सम्बन्धबिच्छेद व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि अधिकांश अवस्थामा यसले स्वतन्त्रताको सीमा नाघेको उनको भनाइ छ । प्रायः सम्बन्धबिच्छेद भएका सन्ततिहरुमा एक्लोपना हुने र विस्तारै लागुऔषधको कुलतमा फस्दै गएको अवस्था छ । आर्थिक लाभ प्राप्त गर्न, संयुक्त परिवारमा बस्न नसक्नुलगायतका कारणले हुने सम्बन्धबिच्छेद समाजका लागि हानीकारक हुने गरेको उपप्रमुख कार्की बताउँछन् ।

हाम्रै घर समाजबाट वैदशिक रोजगारीमा राम्रो कमाई हुने देशमा गएका महिलाहरुले राम्रो आयआर्जन गरेपछि सम्बन्धबिच्छेद गर्ने गरेको पत्रकार नेत्र बिमली बताउँछन् । अभिभावकले आफ्ना छोरा छोरीलाई राम्रो सल्लाह नदिँदा समेत केही सम्बन्धबिच्छेदका घट्नाहरु बढ्दै गएको उनको भनाइ छ ।

सम्बन्धविच्छेदले हाम्रो समाजमा बहुआयामिक असर पु¥याइरहेको समाजिक अभियन्ता गोश्वामी बताउँछन् । यसले सबैभन्दा पहिले बालबालिकामाथि प्रत्यक्ष प्रभाव पार्छ । आमा–बुबा अलग भएपछि बालबालिकामा आत्मविश्वासको कमी देखा पर्ने, पढाइमा असर पर्ने र समाजसँग सहज रूपमा घुलमिल गर्न कठिनाइ हुने अवस्था सिर्जना हुन्छ ।

कतिपय अवस्थामा उनीहरूमा अपराध प्रवृत्ति वा गहिरो मानसिक समस्या समेत विकास हुने गरेको पाइन्छ । त्यस्तै, सम्बन्धविच्छेदपछि महिलामाथि समाजले अझै पनि ठूलो दबाब दिने गर्दछ । विशेषगरी ग्रामीण क्षेत्रमा त सम्बन्धविच्छेद भएकी महिलालाई दोषी ठहरिने प्रचलन अझै कायम छ । यसका कारण उनीहरूले पुनःविवाह गर्न गाह्रो हुने मात्र होइन, आफ्नै परिवार र समाजभित्र पनि स्वीकार्यता पाउन कठिनाइ भोग्नु परेको उनी बताउँछन् ।

पत्रकार देवेन्द्र किशोर ढुंगाना संयुक्त परिवार विगठन हुनुले सम्बन्धविच्छेदको चलन बढ्न थालेको बताउँछन् । ढुङ्गाना भन्छन्, “हाम्रो परिवारसँगको माया टुटेको छ, तर एउटा कुकुरलाई माया गरिरहेका छौँ । पत्रकारिताले यस्ता कुरालाई जिम्मेवारीपूर्वक उठाउनुपर्छ । धेरै मात्रामा सम्बन्धविच्छेद समस्या हो भने कम मात्रामा समाधान पनि हो ।”

सम्बन्धविच्छेदलाई दुई पक्षबाट हेर्ने सकिन्छ । एउटा पक्षका लागि यो गहिरो समस्या हो, जसले परिवारलाई टुक्र्याउँछ, बालबालिकाको भविष्यमा अन्धकार ल्याउँछ, महिलामाथि सामाजिक कलङ्क थप्छ र सामाजिक संरचना नै कमजोर बनाउँछ । अर्कोतर्फ, धेरै पीडितका लागि सम्बन्धविच्छेद नै मुक्तिको उपाय र समाधान हो—दैनिक हिंसा, यातना र असमान सम्बन्धबाट बाहिर निस्कने वैधानिक बाटो हो ।

यसरी सम्बन्धविच्छेदलाई केवल नकारात्मक रूपमा समस्या भनेर मात्र व्याख्या गर्न सकिँदैन । यदि वैवाहिक सम्बन्ध अस्वस्थ, असमान र हिंसात्मक छ भने त्यस्तो सम्बन्धलाई जबर्जस्ती टिकाइराख्नु नै अझ ठूलो समस्या हो । तर, स्वस्थ सम्बन्धलाई असावधानी, आवेग वा प्रविधिको गलत प्रयोगका कारण टुटाउनु भने समाजकै लागि गम्भीर चुनौती हो ।

त्यसैले सम्बन्धविच्छेदलाई समस्या पनि हो, समाधान पनि भन्ने बुझाइ आवश्यक छ । यसको सकारात्मक वा नकारात्मक असर परिस्थिति, कारण र परिणाममा निर्भर हुन्छ । दीर्घकालीन रूपमा, समाजले यसलाई समस्या–केन्द्रित दृष्टिभन्दा बढी समाधानमुखी व्यवहारमा रूपान्तरण गर्नुपर्छ, जहाँ सम्बन्धविच्छेद पछि पनि व्यक्तिको अधिकार, गरिमा र बालबालिकाको भविष्य सुरक्षित हुने वातावरण निर्माण होस् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार