झापा : बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताको कथा देख्न पाइन्छ । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रंगीचंगी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले जीवन्तता झल्काउँछ । यही स्थान हो– शीतला झोला उद्योग, जसले अहिले बुद्धशान्तिमात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लासम्म आफ्नो नाम कमाइसकेको छ ।
यो उद्योगकी सञ्चालक तारादेवी अधिकारी सामान्य गृहिणी मात्रै नभई उद्यमशील महिलाका रूपमा स्थापित भएकी छन् । करिब १२ वर्षअघि सिलाइकटाइ तालिम लिएर सुरुमा मेसिन भाडामा लिएर काम थालेकी तारादेवीले बाँकी कपडाबाट बनाएका सामान्य झोला तत्कालै बिक्री भएपछि यो क्षेत्रमा सम्भावना देखिन् । त्यसपछि उनले निरन्तरता दिँदै २०७६ सालमा शीतला झोला उद्योग स्थापना गरिन् ।
हाल उद्योगबाट ढाका, अल्लोजस्ता कच्चा पदार्थ प्रयोग गरी विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुन्छन् । मूल्य रु ५० देखि रु ३ हजार ५०० सम्म पर्ने यी झोलाले स्थानीय बजार मात्रै नभई कोशी प्रदेशका जिल्लादेखि सुदूरपश्चिमसम्म माग पाएको छ । गत असारमा मात्र कञ्चनपुरको भीमदत्त नगरपालिकाका लागि ११० वटा झोला चार दिनमै तयार गरेर पठाइएको थियो ।
उद्योगमा अहिले १८ महिलाले पूर्णकालीन रोजगारी पाएका छन् भने १५ जना आंशिक रूपमा संलग्न छन् । दक्षताका आधारमा मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाइ हुने भएकाले धेरै महिलाले आफ्ना परिवार पाल्नुका साथै आर्थिक रूपमा सबल भएको अनुभव गरेका छन् ।
कोभिड–१९ को समयमा उद्योगको झोलाको माग झनै बढेको अनुभव गर्दै तारादेवीले बजार विस्तारका लागि फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र स्थानीय मेला हाटबजारको प्रयोग गर्दै आएकी छन् । उद्योगका उत्पादनलाई स्थानीय विद्यालयले विद्यार्थीलाई वितरण गर्ने गरेका छन् भने सङ्खुवासभा, इलाम, पाँचथर, भोजपुरलगायत जिल्लासम्म झोला पुगेको छ ।
आर्थिक रूपमा सशक्त मात्र नभई तालिममार्फत अरू महिलालाई सीप प्रदान गर्दै आत्मनिर्भर बनाउन सक्रिय तारादेवीले यसै उद्योगबाट भएको आम्दानीले बुद्धशान्ति–३ प्रगतिटोलमा तीनतले घर निर्माण गरेकी छन् । हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ र वार्षिक करिब १५ लाख रुपैयाँ नाफा हुने बताइएको छ ।
“तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ,” तारादेवीले भनिन् । उनले अझै देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने तथा नयाँ प्रविधि र डिजाइनमा लगानी गरेर उत्पादनलाई थप गुणस्तरीय बनाउने योजना रहेको बताइन् ।
तारादेवीको कथा व्यक्तिगत सफलताको मात्र होइन, संघर्ष र सीपले समाज परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । झापाको एउटा सानो गाउँबाट सुरु भएको उनको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफल उद्यमिताको प्रेरणादायी प्रतीक बनेको छ ।
प्रतिक्रिया