मोरङको कानेपोखरीमा ट्रक र बस ठोक्किदाँ पाँच जना घाइते

विहीबार, ०९ असोज २०८२

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित रमाईलो भित्री सडक खण्डमा बिहिबार दिउँसो १२ः३० बजे ट्रक र बस ठोक्किँदा पाँच जना घाइते भएका छन्। दुर्घटनामा ना ५ ख २८६९ नम्बरको ट्रक र को १ ख २९१२ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।

घटनास्थलमा प्रहरी चौकी रमाईलोबाट निलमणी पोखरेलको नेतृत्वमा टोली खटाइएको थियो। ट्रक र बस नियन्त्रणमा लिइएको भए पनि ट्रक चालक तत्काल फरार भएको जनाइएको छ।

दुर्घटनामा घाइते भएकामध्ये बस चालक २७ वर्षीय होक कुमार श्रेष्ठको अनुहार, टाउको र दुबै खुट्टामा चोट लागेको छ। उनी न्युरो अस्पताल, बिराटनगरमा उपचाररत छन्। त्यस्तै, २७ वर्षीय सुबोध ठाकुरको टाउकोमा चोट लागेको छ र उनी मध्यम अवस्थामा उपचाररत छन्।

२१ वर्षीय आशिष सरदारको बायाँ हातमा सामान्य चोट लागेको छ भने उनका २१ वर्षीया श्रीमती भुमिका सरदारको टाउको र दाहिने खुट्टामा मध्यम चोट लागेको छ। उनीहरू रङ्गेली अस्पतालमा उपचाररत छन्।

यस्तै, ५० वर्षीया सरिता हस्दाको अनुहार र टाउकोमा चोट लागेको छ भने ७१ वर्षीय कर्ण बहादुर धिमालको अनुहार र दुबै खुट्टामा चोट लागेको छ। दुबैको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाइरहेको र फरार ट्रक चालकको खोजी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार