ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताको राहदानी रोक्का गर्ने सरकारको तयारी

विहीबार, ०९ असोज २०८२

काठमाडौं । सरकारले जेन–जी आन्दोलनको दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी थालेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसबारे मन्त्रिपरिषद् स्तरमा छलफल अघि बढाएको हो।

 निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाचलिस्टमा परेका छन्। राहदानी रोक्का गर्ने निर्णय कानुनी प्रक्रिया पूरा भएपछि मात्रै हुने बताइएको छ।

सरकारले यसअघि अध्यागमन विभाग र राहदानी विभागसँग छलफल गरी रोक्का प्रक्रियाबारे आवश्यक जानकारी लिएको छ। विभागले राहदानी ऐन २०७६ अनुसार ठोस प्रमाण र कारणसहित मात्रै रोक्का गर्न सकिने प्रावधानबारे जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले हालै देउवा, दीपक खड्का, प्रचण्ड र ओलीको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले उनीहरूको घरमा आगजनी गरेका थिए, जसमा ठूलो मात्रामा नगद तथा डलरका टुक्रा भेटिएको भन्दै भिडियो सार्वजनिक भएका थिए। यसबारे विभागले अनुसन्धान अघि बढाएको छ।

२३ भदौमा आन्दोलन दमनका क्रममा २१ जनाको ज्यान गएको घटनामा पनि आयोगले छानबिन गर्ने तयारी गरेको छ। यी दुवै मुद्दामा छानबिन भइरहेकाले सम्बन्धित नेताको राहदानी रोक्का गरेर कानुनी प्रक्रिया अघि बढाउने तयारी सरकारको रहेको बताइएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार