सम्पादकीय : सभ्य र सुसंस्कृत दशैं मनाऔं

शनिबार, ११ असोज २०८२

नेपालीहरुको महान् पर्व महान् पर्व दशैं आँगनमै आइपुगेको छ । पौराणिक कथनअनुसार सत्यको विजय र असत्यको पराजयको प्रतीकका रूपमा मनाइने यो पर्व नेपाली समाजको सांस्कृतिक, धार्मिक र सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको छ ।

यस पर्वले एकातर्फ देवी दुर्गाको आराधना गरेर शक्तिप्राप्ति गर्ने धार्मिक आस्था जगाउँछ भने अर्कातर्फ परिवार, आफन्त र समाजबीचको आपसी सद्भावलाई मजबुत बनाउन ठूलो अवसर पनि दिन्छ ।

तर, पछिल्ला वर्षहरूमा दशैंले ल्याउने रमाइलो र उत्साहसँगै केही विकृति र असंस्कृत अभ्यासहरू पनि देखिन थालेका छन् । चाडपर्वलाई उपभोगवादी मानसिकता, देखासिकी र अतिव्ययी प्रवृत्तिले ग्रसित बनाइरहेको छ । कतिपय परिवारले ऋण लिएर भए पनि अरूसँग प्रतिस्पर्धा गर्ने शैलीमा खर्च गर्ने गर्छन् । 

यसले चाडको वास्तविक उद्देश्यलाई कमजोर बनाउनुका साथै सामाजिक असमानतालाई पनि बढावा दिन्छ । दशैंको नाममा जुवातास, मदिरापान र विकृत मनोरञ्जनले पारिवारिक वातावरणलाई मात्र होइन, सामाजिक शान्तिलाई समेत असर पु¥याउने गरेका उदाहरण कम छैनन् ।

दशैंको सन्देश भनेको एक आपसमा सद्भाव, मेलमिलाप र सहयोगको भाव जगाउनु हो । यस अवसरमा टाढाटाढा बस्ने परिवारजन, दिदीबहिनी–भाइबन्द, साथीभाइ भेटघाट गर्न गाउँघर र शहर पुग्छन् । त्यसैले यात्राको भीडभाडमा सुरक्षित सवारी साधनको प्रयोग, चालकले जिम्मेवार ढंगले गाडी चलाउने बानी र यात्रुले पनि सजग भएर यात्रा गर्नु आवश्यक हुन्छ ।

प्रत्येक वर्ष चाडपर्वका बेला हुने सडक दुर्घटनाले धेरै परिवारलाई चाडको खुशीयालीमा शोकमा पार्ने गरेका छन् । यसप्रति सचेत हुनु हाम्रा लागि उत्तिकै जरुरी छ ।

दशैं केवल पूजाआजा गर्ने वा आडम्बर प्रदर्शन गर्ने पर्व होइन, यो सामाजिक मूल्य र मान्यतासँग जोडिएको साझा उत्सव हो । यसमा धनी–गरिब, जात–पात वा वर्गभेदको कुनै स्थान छैन ।

समाजका कमजोर र वञ्चित वर्गलाई चाडमा सामेल गराउनु, उनीहरूसँग साना खुशी बाँड्नु नै दशैंको वास्तविक धर्म हो । चाडलाई सभ्य ढंगले मनाउनु भनेको परम्परागत मूल्य, संस्कृति र सामाजिक उत्तरदायित्वलाई सम्मान गर्नु पनि हो ।

आजको बदलिँदो समाजमा चाडपर्वलाई नयाँ पुस्ताले रमाइलो र अर्थपूर्ण बनाउने चुनौती छ । तडकभडकभन्दा पर, सभ्य र सुसंस्कृत ढंगले दशैं मनाउने संस्कार स्थापित गर्न सकियो भने मात्र यो पर्वले हाम्रो सांस्कृतिक पहिचानलाई दीर्घकालसम्म जोगाउन सक्छ । त्यसैले यो दशैंमा हामी सबैले संयमता, सरलता र उत्तरदायित्वका साथ पर्व मनाउने प्रतिबद्धता जनाऔं । आफ्ना परिवारसँग खुशी बाँडौँ, समाजमा मेलमिलाप र सद्भाव फैलाऔं र दशैंलाई साँच्चिकै महान् पर्वका रूपमा स्थापित गरौँ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार