कोशी प्रदेशमा अविरल वर्षा : सात ठाउँमा सडक अवरुद्ध, सप्तकोसीमा पानीको बहाव बढ्दै

शनिबार, १८ असोज २०८२
file pic

सङ्खुवासभा :  लगातारको वर्षासँगै कोशी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सात ठाउँका सडक अवरुद्ध भएका छन्।

सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा र उदयपुरका सडक खण्डहरूमा आवागमन पूर्णरूपमा रोकिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ–६ र ७ को सिमाना भँडारे खोलामा आएको बाढीले करिब १० मिटर सडक बगाएको छ। त्यस्तै, उदयपुरको कटारी–१४ दलदले र चनौटे क्षेत्रमा खहरे खोल्साबाट आएको लेदो माटो तथा भदौरेमा खसेको पहिरोका कारण आवागमन ठप्प भएको छ।

भोजपुर नगरपालिका–१० मिलनमा माथिबाट खसेको २० मिटर पहिरोले सडक अवरुद्ध बनाएको छ भने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग खण्डमा पनि पहिरो खसेपछि यातायात रोकिनु परेको छ। साथै, भोटखोला गाउँपालिका–४ वरुणस्थित सोही राजमार्गमा तीन वटा ह्युमपाइप बगाउँदा सम्पर्क मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

यसैबिच सप्तकोसी नदीको बहाव पनि सामान्यभन्दा माथि पुगेको छ। आइतबार साँझ सप्तकोसीमा पानीको बहाव १ लाख २ हजार ३५ क्युसेक प्रतिसेकेन्ड पुगेको प्रहरीले जनाएको छ। कोशी ब्यारेजका ५६ ढोकामध्ये १४ ढोका खोलिएका छन्।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुग्दा खतराको संकेतस्वरूप रातो बत्ती बालिने गरिन्छ। हाल अन्य नदीहरूमा भने पानीको बहाव सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार