विराटनगर : अबिरल वर्षापछि मोरङका विभिन्न खोलामा आएको बाढीले सयौँ घर बस्ती डुबानमा परेका छन्। केसलिया, बक्राहा र लोहान्द्रा खोलाको बहाब बढेपछि बाँध नाघेर पानी बस्तीभित्र पस्दा दर्जनौँ परिवार विस्थापित भएका छन्। प्रहरी, स्थानीय तह र जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
बिराटनगर महानगरपालिका–१२ को सम्पन्न बस्तीमा केसलिया खोलाको बाँध नाघी बिहान करिब ५ बजेदेखि बाढी पस्न थालेको थियो। बखरी प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा करिब ७५ घरका ३५० जना नागरिकलाई बखरी उद्योग वस्ती, दरैया आधारभूत विद्यालय र नवनिर्माणाधीन कारखानाको भवनमा अस्थायी रूपमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसैगरी, सुनवर्षी नगरपालिका–६ कैनीस्थित बक्राहा खोलाको बाँध नाघी बस्तीमा पानी पस्न थालेपछि स्थानीय र प्रहरीको टोलीले माटो थपेर बाँध मजबुत पार्ने प्रयास गरिरहेको छ। बक्राहा खोलाले बाहुनटोलतर्फको बाँध करिब पाँच मिटर काटेपछि त्यहाँका करिब ५० देखि ६० घर डुबानमा परेका छन्।
त्यस्तै, धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घरमा पानी पसेको छ। प्रहरी चौकी कर्सियाबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा लैजाने काम गरिरहेको छ।
उर्लाबारी नगरपालिका–९ बोडरलाइन क्षेत्रमा पनि रतुवा खोलाको बाँध फुट्दा २० घर वरिपरिको क्षेत्र डुबानमा परेको छ। बखरी र राजघाटका प्रहरी टोलीहरूले जोखिममा रहेका बासिन्दालाई छिमेकीको घर र उच्च भूभागमा सार्ने कार्य अघि बढाएका छन्।
मोरङका अधिकांश खोलामा पानीको बहाब अझै उच्च रहेकाले थप जोखिम बढ्ने आशंका स्थानीय प्रशासनले जनाएको छ। लगातारको वर्षा रोकिएपछि मात्रै क्षतिको पूर्ण विवरण आउन सक्ने बताइएको छ। प्रहरीका अनुसार हालसम्म बाढीमा मानवीय क्षतिको रिपोर्ट भने प्राप्त भएको छैन।
प्रतिक्रिया