काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको तेस्रो ‘तिहार फ्लोरा एक्स्पो’ शनिबार समापन गरियो । असोज २८ गतेबाट सुरु भएको तिहार फ्लोरा एक्स्पोको पाँचौँ दिनमा एक करोडभन्दा बढीको कारोबार भएर समापन हुँदा नर्सरी व्यवसायहरु खुसीले दंग थिए ।
नर्सरी व्यवसायी संघका अनुसार, नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिएकाले पनि ग्राहकहरूको आकर्षण केन्द्र बनेको हो ।
मेलामा विभिन्न प्रजातिका फूल, गमला तथा मनमोहक आकर्षक फूललगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका थिए ।
७० वटा स्टल राखिएको मेलामा सुरुमा ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएता पनि एक करोडभन्दा बढीको कारोबार भएको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमल्सिनाले जानकारी दिए ।
उनले दशैँमा खासै फूलको व्यपार नभएकाले डरै डरमा मेलाको आयोजना गरेको भन्दै मेला एकदमै राम्रोसँग सफल भएको सुनाए ।
‘हामीले सुरुमा मेला गर्दाखेरि दशैंमा पनि फूल बिक्री भइराख्या थिएन । तिहारमा पनि के हुन्छ, मेला कसरी सफल हुन्छ कि हुँदैन भन्ने डर–डरमा हामीले मेला गरेका थियौं । मेला एकदमै सफल भयो,’ अध्यक्ष तिमल्सिनाले भने, ‘हामीले अपेक्षा गरेकाभन्दा ३५ हजारभन्दा बढीले अवलोकन गर्नुभयो । एक करोडभन्दा माथिको कारोबार भएको छ ।’
स्वदेशी उत्पादनलाई प्राथमिकता
नेपाली उत्पादनलाई प्राथमिकता दिई आफ्नै उत्पादन मखमली, सयपत्री, गोदावरीमा ग्राहकहरूको बढी आकर्षण बढेको नर्सरी व्यवसायी संघले बताएको छ ।
नर्सरी व्यवसाय संघका बरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले भने, ‘अहिले नर्सरी व्यवसायी संघले नेपाली उत्पादनलाई ंपहिलो प्राथमिकता दिएर मेलामा पनि त्यस्तै खालका विरुवाहरू, फुलहरू राखेका थियौं । यो तिहार लक्षित मेला भएकाले मखमली, सयपत्री, गोदावरीमा ग्राहकहरूको बढी आकर्षण हुन्छ।’
सत्र वर्षदेखि नर्सरी पेशामा आबद्ध रहेका गौतम प्लास्टिकका फूलहरूलाई निषेध गरी गाउँमा उत्पादन गरेका विरुवा फुलहरू प्रयोग गर्न सके वातावरणलाई समेत फाइदा पुग्ने बताउँछन् ।
उनले भने, ‘अहिले काठमाडौं महानगरपालिका र नर्सरी व्यवसायी संघलगायत अरु संस्थाहरू मिलेरप्लास्टिकका फुलहरूं निषेध गर्ने कार्यक्रमहरू अगाडि बढाएका छौं । प्लास्टिकका फुलहरू निषेधै गर्नुपर्छ । किनभने गाउँमा उत्पादन गरेका विरुवा वा फूलहरू खेर जाने, प्लास्टिकका कृतिम फूलहरू सजाएर वातावरणलाई नै प्रदूषित गर्ने काम गर्नु हुँदैन ।’
यस्तै अध्यक्षतिमल्सिनाले फूल व्यवसायीहरूलाई आत्मनिर्भर बनाउनका साथै देशमा रोजगार उत्पादन गर्न स्वदेशी फूलको प्रयोग गर्नुपर्ने बताए ।
‘फूल प्रयोग गर्नेले पनि यो फूल स्वदेशी हो कि होइन? मैले यो फूल प्रयोग गर्दा देशमा कति जनाले रोजगार पाउँछन् ? कति अर्थतन्त्र देशमै रहन्छ भन्ने पनि ख्याल गर्न म अनुरोध गर्दछु,’ अध्यक्ष तिमल्सिनाले भने ।
उनले स्वदेशी फूललाई प्राथमिकता दिन नीतिगत रुपमा नै पहल गरिरहेको समेत बताए। उनले भने, ‘हामीले आवश्यक नीतिहरूको लागि पनि पहल गरिरहेका छौं । विशेषगरी उत्पादनदेखि लिएर त्यसमा आइपर्ने अन्य समस्याहरूको कुराहरू हामीले सम्पूर्ण राखिसकेका छौ।’
प्रतिक्रिया