सुन्दरहरैँचामा सामान्य विवादपछि खुर्पा प्रहार, एक व्यक्ति घाइते

शनिबार, ०८ कार्तिक २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलिया बजारमा सामान्य विवाद झगडामा परिणत हुर्दा हतियार प्रहारसम्मको घटना हुन पुगेको छ । 

खुर्पा प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा मृगौलिया बजारका ३७ वर्षीय भीमबहादुर मगर रहेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः४५ बजे स्थानीय ३५ वर्षीय मञ्जित गहतराजले मगरमाथि धारिलो हतियार खुर्पाले आक्रमण गरेका थिए । 

प्रहारबाट मगरको दाहिने पाखुरामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र हाल मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ । 

प्रहरीले आक्रमणमा संलग्न गहतराजलाई घटनामा प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएको छ । दुवै जनाबीच सामान्य भनाभनबाट सुरु भएको विवाद झगडामा परिणत भएको देखिएको प्रहरीले जनाएको छ । तर, विवादको मूल कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको छ । स्थानीयले भने घटनापछि बजार क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार