काठमाडौं । उतिबेला देशका उच्च भूभागमा हिमपात भइरहेको छ। बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो।
नेपालका केही भूभागमा वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भएको छ।
जिल्लाको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई असहज भएको छ। हिमपातले गर्दा यात्रा र आवागमनमा प्रभाव परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनाङको माथिल्लो भेगमा पनि भारी हिमपात भइरहेको छ।
गएको १२ घण्टामा विशेष गरी गण्डकी प्रदेश धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका पहाडी र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको हो।








प्रतिक्रिया