 
                            विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई वार्ता र संवादमार्फत टुंग्याउन आग्रह गरेका छन्।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले उद्योग र कलकारखानामा विद्युत आपूर्ति अवरुद्ध हुँदा उत्पादन, लगानी र रोजगारीमा प्रत्यक्ष असर परेको भन्दै तत्काल संवादमार्फत समस्या समाधान गर्न सुझाव दिएका हुन्। उनले विद्युत लाइन काटिँदा उद्योगहरू ठप्प भएपछि त्यसले अर्थतन्त्रमा मात्र नभई हजारौँ कामदारको रोजगारी गुम्ने खतरा रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड तथा आगजनीका घटनाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई निरुत्साहित पारेको भन्दै त्यसले प्रदेशको औद्योगिक वातावरणमा नकारात्मक असर पारेको बताए।
उनले हाल देशको आर्थिक अवस्था क्रमशः सुधारतर्फ उन्मुख भइरहेकाले यस संवेदनशील अवस्थामा सरकार र निजी क्षेत्रबीचको असमझदारी दीर्घकालीन हुन नदिने र वार्ता र संवादकै माध्यमबाट निकास निकाल्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री कार्कीले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रलाई राज्यले अभिभावकको भूमिका निभाउँदै सुरक्षा, स्थायित्व र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया