इलाममा पुनर्निमाण प्राधिकरणको शाखा स्थापना गर्न एमालेको माग

आइतबार, १६ कार्तिक २०८२

इलाम । बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको इलाममा पुनर्निर्माणका कार्यमा ढिलाइ भएको भन्दै नेकपा (एमाले) इलामले पुनर्निर्माण प्राधिकरणको शाखा जिल्ला स्तरमै स्थापना गर्न माग गरेको छ । बाढीको एक महिना बित्न लाग्दा पनि प्रभावकारी पुनर्निर्माण सुरु नहुँदा एमालेले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २५ बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेको हो ।

ज्ञापन पत्रमा पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाउन प्रदेश स्तरमा मुख्यमन्त्रीको नेतृत्वमा पुनर्निर्माण बोर्ड गठन गर्नुपर्ने, क्षति भएका घर निर्माणका लागि पालिकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । त्यस्तै, बाढीपीडितका लागि घर निर्माणका लागि जग्गा खरिदको रकम र आवास पुनर्निर्माण प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने र उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्ने माग पनि राखिएको छ ।

एमालेले प्रकोपबाट मृत्यु भएका परिवारका लागि रोजगारीको व्यवस्था गर्न, प्रभावित व्यवसायीलाई क्षतिको आधारमा न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, र पुनर्निर्माण कार्य पारदर्शी र जिम्मेवार निकायमार्फत सञ्चालन गर्नुपर्ने सुझावसमेत दिएको छ ।

ज्ञापन पत्रमा एमाले इलामका अध्यक्ष गणेश बराल र सचिव रवीन्द्र सुवेदीको हस्ताक्षर रहेको छ । ज्ञापन पत्र आजै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई बुझाइएको एमाले सचिव सुवेदीले बताए । उनका अनुसार, प्रमुख जिल्ला अधिकारी नेपालले ज्ञापन पत्र प्रधानमन्त्री र गृह मन्त्रालयमा पठाइने जानकारी गराएकी छन् ।

एमालेले सरकारलाई इलाममा तत्काल पुनर्निर्माण प्राधिकरणको शाखा स्थापना गरी स्थानीय तह र प्रदेश सरकारसँग सहकार्यमा प्रभावकारी पुनर्निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार