बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

आइतबार, १६ कार्तिक २०८२

काठमाडौं। स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन्।

सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ।

यसैबीच सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।
स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएपछि फोहोर फाल्न दिने सहमति भएको छ।

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका मन्त्री घिसिङले फोहोर सम्पत्ती भएकाले यसलाई पैसामा परिणत गर्न सबैले फोहोरको व्यवस्थापन घरबाट गर्न पहल गर्नुपर्ने बताए।

उनले भने, ‘फोहोर भनेको फोहोर होइन, सम्पती हो, पैसा हो । त्यो पैसामा कसरी परिणत गर्ने भन्ने विषयलाई हामीले अगाडि बढाउन पर्छ । हरेक घरबाट नै फोहोरको व्यवस्थापन घरबाट निस्केपछि त्यसको व्यवस्थापन गरी सबै प्रदुषणलाई कसरी हटाउन सकिन्छ यसमा आम नागरिकको हिसाबले समाधान तर्फ जानुपर्छ ।’

बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए ।

‘यहाँ धेरै कुराहरु अदालतसँग जोडिएको छ । कतिपय विषय अदालत पुगेर पनि डेटलकमा बसेको विषयहरु पनि छ । यस्ता विषय डेटलकमा बस्नुहुँदैन । अदालतले पनि हेर्नुपर्छ । सरकारले हेर्नुपर्छ । स्थानीय निकायले हेर्नुपर्छ,’ उनले भने ।

मन्त्री घिसिङ सहित आइतबार बिहानै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार