धरानका मेयरलाई युवाले सोधे- गुण्डा, झोले र गुइँठे किन भनेको ?

विहीबार, १४ बैशाख २०८०
इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईलाई विभिन्न युवा संगठनले ८ बुँदे प्रश्न गरेका छन् । आज बिहिवार नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले उपमहानगर परिसरमा गएर नगरप्रमुख साम्पाङसँग ८ प्रश्नको जवाफ मागेका हुन् । उनीहरूले नगरप्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण धरानबारे नकारात्मक टिप्पणी हुन थालेको भन्दै अविभावकको रूपमा रहेको नगरप्रमुखका त्यस्तो हर्कत शोभनीय नहुने बताएका छन् । उनीहरूले नगर प्रमुखले युवालाई गुन्डाको संज्ञा दिनु, दलका झोले भन्नु, गुइँठे जस्ता शब्दको प्रयाग गरिनुले धराने युवाको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । यस्ता छन् उनीहरुले राखेका ८ प्रश्न– १) खानेपानी समस्या समाधानका लागि तपार्इंले गरिरहनु भएका कामहरू सकारात्मक छन् । तर, कोकाहा, सर्दु खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरू र कानुनी प्रक्रिया, सहमति र समग्र परियोजनाको आधारहरू के के हुन् ? २) धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाईं नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ, बोर्ड हालसम्म गरेका कामहरूको वैधानिकता के हो, बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौँ खर्च कसरी गरिरहेको छ, खानेपानीको विभिन्न परियोजनाहरूका सन्दर्भमा कस्ता कस्ता निर्णयहरू भएका छन् । बोर्डको विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन, बोर्डको अध्यक्ष चयन गर्न सकिएन ? ३) कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरूको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ? ४) धरानको खानेपानीको लागि दाताहरूले दिने सहयोग रकम वाणिज्य बैङ्कको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाईँकै प्रस्तावमा पारित गरी खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैङ्क खातामा रकम जम्मा नगरी व्यक्तिगत रूपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार हो कि होइन ? अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफैँ चाहीँ पारदर्शी हुनु पर्ने कि नपर्ने ? ५) कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ? ६) वडाका अध्यक्षहरु पनि तपाईंजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरू हुन् । वडा अध्यक्षहरूलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाईंको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाईंको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाईंले कहिले माफी माग्नुभयो ? ७) धरान र इटहरीको सीमा विवाद पूर्व नगर प्रमुखहरू भएकै समयदेखिको हो । सीमा विवाद चाँडै किनारा लगाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरूलाई कहिले जानकारी गराउनु भएको थियो ? यसअघि पनि सीमा विवाद भएको र त्यस बेला दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन । धरान उपमहानगरपालिका तर्फबाट दलहरू, पूर्व जनप्रतिनिधिहरू, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षीसँग कहिले छलफल गर्नुभयो ? ८) नियमित कार्यपालिकाको बैठक अवरोध हुनु धरानको विकासका समग्र प्रक्रियामा अवरोध आउनु, धरानको बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा म प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोच मनमा आउँछ कि आउँदैन होला ?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार