बुटवल : रुपन्देहीको बुटवलमा घरयासी विवादका क्रममा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् । श्रीमतीको चक्कु प्रहारबाट गम्भीर घाइते भएका श्रीमान ३० वर्षीय श्रीमान् सुरज गुरुङ बुटवल उपमहानगरपालिकाका नगर प्रहरी हुन् ।
घाइते सुरज बुटवल उपमहानगरपालिकामा नगर प्रहरीका रूपमा कार्यरत वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक इश्वर गिरीले जानकारी दिए । बुटवल उपमहानगरपालिका–११, नहरपुरकी ३८ वर्षीया पवित्रा गुरुङले मंगलबार राति श्रीमान् सुरजलाई चक्कु प्रहार गरेकी थिइन ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको छ । घटनालगत्तै उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रेफर गरिएको रानाले बताए ।
पवित्रा प्रहरीको नियन्त्रणमा छिन् । स्थानीयका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो झगडा हुने गरेको थियो । विवादकै कारण सुरज छुट्टै कोठामा सुतेका बेला पवित्राले चक्कु प्रहार गरेको स्थानीयले बताएका छन । उनीहरूको ७ वर्षीय एक छोरा छन् ।
प्रतिक्रिया