आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु

शुक्रबार, १५ बैशाख २०८०
विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु भएको छ । विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टर उपचारका क्रममा उनको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका मोरङको लेटाङ नगरपालिका–७ घर भइ मकवानपुरको हेटौँडामा बस्दै आएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले मृत्यु भएको हो । उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बिहीबार बिहान १०ः४० बजेतिर ग्यालेनमा पेट्रोल लिएर आएका वृद्धले आफ्नै शरीरमा खन्याएर आगो लगाएका थिए । आगोले वृद्धको शरीरका अधिकांश भाग जलेको थियो । उनको साथमा रहेको झोलामा भेटिएको नागरिकताका आधारमा पहिचान खुलेको थियो । डीएसपी दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट वृद्धले लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको खुलेको छ । ‘वृद्धले चिनजानका मान्छेलाई पैसा सापटी दिएको खुलेको छ । त्यो पैसा उठाउन जाँदा विवाद भएपछि शरीरमा आगो लगाएर आत्मदाह गरेको खुल्यो,’ उनले भने, ‘घटनासँग सम्बन्धित प्रमाण संकलन गरेर थप अनुसन्धान अघि बढाइएको छ ।’ उनका अनुसार घटनापछि परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । शव पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार