विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालका सुरक्षागार्डलाई दुर्व्यवहार र प्रहरीमाथि हातपात गर्ने १ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बूढीगंगा–२ का ५२ वर्षीय वीरेन्द्र थापामगरलाई पक्राउ गरिएको हो । थापामगरले अस्पतालको ड्युटीमा रहेका सुरक्षागार्ड उदयपुरको बेलका नगरपालिका–३ घर भएका सुरक्षागार्ड ३८ वर्षीय महेन्द्र श्रेष्ठलाई बुधबार राति ११ः३० बजेतिर दुर्व्यवहार गरेको प्रहरीले जनाको छ ।
दुर्व्यवहार र वादविवादका क्रममा अस्पतालको बिलिङ काउन्टरको एउटा सिसासमेत फुटेको छ । प्रहरीका अनुसार अस्पतालको काउन्सिलिङ क्षेत्रमा नबस्नलाई सुरक्षागार्डले अनुरोध गर्दा थापामगर एक्कासि आवेशमा आएर वादविवाद एवं दुर्व्यवहारमा उत्रिएका थिए ।
सम्झाइबुझाइ गर्ने क्रममा झन् आक्रोशित बनेपछि प्रहरीको सीआरभी बाँसबारीका असई सुरेश श्रेष्ठ नेतृत्वको टोली अस्पताल पुगेको थियो । थापामगरले वादविवाद गर्दै प्रहरी टोली माथिसमेत हातपात एवं अभद्र व्यवहार गरेको जानकारी डीएसपी चुँडालले दिइन् ।
त्यसलगत्तै उनलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्की नेतृत्वको टोली पुगेको थियो । कार्की नेतृत्वको टोलीले थापामगरलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ पुर्यायो ।
पक्राउ परेका थापामगर नेपाल प्रहरीका पूर्वहवल्दार र बूढीगंगा गाउँपालिकाको नगरप्रहरी इन्चार्जसमेत रहेको पाइएको छ । नगरप्रहरी इन्चार्जमा असईका रुपमा उनी कार्यरत छन् ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी चुँडालले दिइन् । घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताइन् ।
प्रतिक्रिया