काठमाडौँ : मुलुकको राजनीतिमा वैकल्पिक शक्तिको खोजी तीव्र भइरहेका बेला दुई चर्चित अनुहार—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)—बीच सहकार्यको ठोस आधार तयार भएको छ।
सोमबार साँझदेखि अबेर रातिसम्म चलेको निर्णायक वार्ताले लामो समयदेखि देखिँदै आएको दूरी मेटाउँदै दुवै नेतालाई एउटै कित्तामा उभ्याएको हो।
‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर भएको यो छलफललाई वैकल्पिक राजनीतिमा महत्त्वपूर्ण ‘कोर्स करेक्सन’ का रूपमा हेरिएको छ। सोमबार कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको कार्यालयमा करिब ६ घण्टा लामो छलफलपछि दुवै नेता मिलेर अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।
बिहानको प्रारम्भिक भेटपछि साँझ पुनः जुटेका लामिछाने र शाहबीच संवाद निकै सघन भएको बताइन्छ। वार्ता निष्कर्षमा पुगेपछि राति एउटै गाडीमा बाहिरिएका दुवै नेताको दृश्यलाई पुष्टि गर्दै रास्वपा नेता असीम शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।’
स्रोतका अनुसार, छलफल सामान्य भेटघाटमा सीमित थिएन। आगामी निर्वाचनअघि छरिएर रहेका वैकल्पिक शक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउने रणनीतिमा दुवै नेता सहमत भएका छन्। यसका लागि शक्ति बाँडफाँट र सहकार्यको उपयुक्त ‘मोडल’ तय गर्न दुवै पक्षका टिमले गृहकार्य अघि बढाइरहेका छन्।
त्याग गर्न तयार रवि, सकारात्मक बालेन
न्यायिक हिरासतबाट रिहा भएपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएका लामिछानेले नयाँ शक्तिहरूको एकतामा आफू बाधक नबन्ने स्पष्ट सन्देश दिँदै आएका छन्। उनले शनिवार मात्रै एक सार्वजनिक कार्यक्रममा नयाँ दलहरू मिल्ने सर्तमा पहिलो त्याग आफूले गर्ने घोषणा गरेका थिए।
छलफलमा सहभागी जेनजी अगुवा सुदन गुरुङका अनुसार दुवै नेता ‘ओपन माइन्डेड’ भएर प्रस्तुत भएका कारण सहमति जुट्न सहज भएको हो। ‘कसको भूमिका के हुने र कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस छलफल भइरहेको छ,’ उनले भने, ‘जनताको चाहना र जेनजीको भावनालाई कदर गर्दै उहाँहरू एक ठाउँमा आउनुभएको हो।’
रवि–बालेनको यो छलफललाई अन्तिम बिन्दु मानिएको छैन। यो अभियानलाई अझ फराकिलो बनाउँदै स्वतन्त्र र लोकप्रिय छवि भएका अन्य व्यक्तित्वहरूलाई पनि समेट्ने प्रयास सुरु भएको छ। लामिछानेले आइतबार मात्रै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग एक्लै भेटवार्ता गरेका थिए।
यसैगरी, रास्वपा वृत्तका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि सहकार्यका लागि संवाद अघि बढाउने तयारी भइरहेको छ। घिसिङ पनि नयाँ राजनीतिक ध्रुवीकरणप्रति सकारात्मक रहेको बताइन्छ। सोमबारको वार्तामा रास्वपा उपसभापति डिपी अर्याल र मेयर शाहका सहयोगी कुमार बेनको समेत उपस्थिति थियो।
प्रतिक्रिया