इटहरी । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को अध्यक्ष पदमा महासचिव दीपकराज भुसालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
इक्यानको साधारण सभा र निर्वाचनको मिति सार्वजनिक भएसँगै भुसालले औपचारिकरूपमा अध्यक्ष पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
इक्यानका अनुसार साधारणसभा २८ पुस अर्थात् १२ जनवरीको बिहान ८ बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुँदैछ । सोही अवसरमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचनसमेत हुने कार्यक्रम छ ।
हाल इक्यानको महासचिवको जिम्मेवारीमा रहेका भुसाल शैक्षिक परामर्श क्षेत्रका अनुभवी व्यवसायी हुन् । लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहेका भुसालले यसअघि पनि इक्यानमा आबद्ध रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
अध्यक्षका प्रत्यासी भुसाल एनलाइटन इन्टरनेशनल एजुकेसनका अध्यक्षसमेत रहेका छन् ।
लामो समयदेखि वैदेशिक शिक्षा परामर्श क्षेत्रको सुधार, पारदर्शिता र नीतिगत सुदृढीकरणमा सक्रिय भूमिका खेल्दै आएका भुसालले इक्यानलाई अझ संस्थागत र उत्तरदायी बनाउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै भुसालले शैक्षिक परामर्श क्षेत्रलाई विश्वासिलो, मर्यादित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
उनी इक्यानलाई सदस्य–केन्द्रित, नीतिमुखी र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने योजनासहित चुनावी मैदानमा आएका छन् ।
प्रतिक्रिया