समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन भन्ने माग सहित महिला अधिकारकर्मीहरुको प्रदर्शन

शुक्रबार, १८ पुस २०८२

काठमाडौँ:  महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज माइतिघर मण्डलामा दबाबका लागि ¥यालीसहित अधिकारको माग गरेको हो । 
माइतिघर मण्डलाबाट सुरु भएको ¥याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै आवाज उठाइएको थियो ।

सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायत विषय लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए । 

कोणसभामा गैरसरकारी संस्था महासङघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले विगतमा पनि राजनीतिक पार्टीले समानुपातिक उम्मेदवारमा धनाड्य, आफन्त र पहुँचवालालाई स्थान दिने गरेको भन्दै यसपटक नयाँ पार्टीहरूले पनि चर्चित र सम्पन्न व्यक्तिलाई नै समानुपातिकमा नाम राखेकामा विरोध जनाइन । 

उनले जनताले सडकबाट सङ्घर्ष गरेर संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न बाध्य पारेको सन्दर्भ उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी समेत दिइन । समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन”, थापाले भनिन,“त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्तै हटाउन हाम्रो आग्रह छ ।”  

कोणसभामा जेनजी पुस्ताका अगुवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिइन । उनले समानुपातिक अधिकार सीमान्तकृत समुदायकै हुने भएकाले यसमा नेताहरूले आँखा नलाउन खबरदारी समेत गरिन । 
सभामा दबाब र खबरदारी अभियान निरन्तर जारी राख्ने  जनाइएको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार