गलकोट ः पछिल्लो समयमा पर्यटकहरुको रोजाइमा पर्न थालेको बाग्लुङको बेलढुङ्गा प्राकृतिक दृश्यावलोकनका लागि प्रसिद्धी कमाउदै आएको छ । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा विकसीत भइसकेको छ । बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गा पर्यटकहरु हिमाल नजिकबाट हेर्न पुग्ने गरेका हुन् ।
पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर प्रचारप्रसार गर्न थालेपछि बेलढुङ्गा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ ।
बेलढुङ्गाबाट सम्मुखमै देखिने दर्जनाँै हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण गरिएको छ ।
आँखैअघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउँदा मोहित भएको बागलुङको तित्याङका लालबहादुर थापाले बताए । बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आकर्षणको केन्द्र रहेको थापाको भनाइ छ ।
समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैँमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको छ । एकै ठाउँबाट धेरै हिमाल देखिने भएका कारण पनि पर्यटकहरुको आकर्षण बढ्न थालेको स्थानीय गोपाल श्रीस बताउछन । रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिने श्रीसले जानकारी गराए ।
बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । पूर्वाधार विकासको कामले गति लिएको छ, देउरालीमा सडक पुगेको छ भने खानेपानी ल्याउने प्रयास थालिएको छ। स्थानीयहरु वताउछन । बेलुका घरबासमा बसेका पर्यटक बिहान हिमाल हेर्न बेलढुङ्गा पुग्ने गर्दछन्, चैत वैशाखमा त लागीगुराँसले ढकमक्क हुन्छ बेलढुङ्गा गाउँ ।
बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागिसमेत लगानी गरिरहेको छ । काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङ्गा पुग्ने पदमार्ग सहितका अन्य पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन ।
प्रतिक्रिया