१९ वर्षपछि फर्किएको डिआइजिपी रनिङ कपको फाइनलमा पुलिस स्कुल र प्रभात भिड्दै, दुवै टिमको इतिहास रच्ने दाबी

शुक्रबार, १८ पुस २०८२

धरान: १९ वर्षपछि पुन सञ्चालनमा आएको डिआइजिपी रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल आमनेसामने हुँदैछन । दुवै टिमले फाइनल जित्दै इतिहास रच्ने दाबी गरेका छन् ।

यतिबेला धरानमा डिआइजिपी रनिङ कपको चर्चा निकै चुलिएको छ । कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरानलाई सौखिन, फेसनेबल र लाहुरेको सहरका रूपमा चिनिने गरिए पनि पछिल्लो समय यसले खेलकुद प्रेमी शहरको पहिचान मजबुत बनाउँदै गएको छ । धरानलाई चिनाउने फुटबल प्रतियोगिता जस्ता खेलकुद गतिविधिको भूमिका महत्वपूर्ण रहेको छ ।

यु–१६ र यु–१८ उमेर समूहका खेलाडीहरूलाई अवसर दिने उद्देश्यले सुरु गरिएको डिआइजिपी रनिङ कप आज एक प्रतिष्ठित प्रतियोगिताको रूपमा उभिएको छ । विसं २०५८ सालमा स्थापना भई निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता विविध कारणले २०६३ सालमा स्थगित भएको थियो । करिब १९ वर्षपछि पुन सञ्चालनमा आएको प्रतियोगिताले धरानलाई खेलकुदको सहरका रूपमा चिनाउन योगदान पु¥याएको छ ।

‘मित्रताका लागि निष्पक्ष खेल’ भन्ने नारासहित विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायुले बताए ।

उनले भने, यही पुस ९ गतेबाट सुरु भएको प्रतियोगिता अहिलेसम्म सफलतापूर्वक सञ्चालन भइरहेको छ । सहभागी सबै टिमले इन्जुरीबिनै खेल सम्पन्न गरेका छन्, जुन हामी सबैका लागि खुसीको कुरा हो । १९ वर्षपछि स्थगित प्रतियोगिता पुन सञ्चालन गर्न पाउनु गर्वको विषय हो । फाइनलमा हार जित हुन्छ, तर सहभागी सबै खेलाडीले राम्रो अवसर पाउन सकुन् भन्ने हाम्रो अपेक्षा छ ।

हायुले भने,यहाँसम्म आइपुग्दा यात्रा सहज भने थिएन,सबैको साथ, सहयोगका कारण सातौँ संस्करण सफलतापूर्वक सम्पन्न हुने चरणमा पुगेको छ । डिआइजिपी रनिङ कपले धरानमा मात्र होइन, यहाँका नयाँ खेलाडीलाई समेत राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिइएका छौ । 

नेपाल पुलिस स्कुल धरानका फुटबल प्रशिक्षक सागर कार्की भन्छन् ७ औँ संस्करणमा पहिलो पटक नेपाल पुलिस स्कुल फाइनलमा पुग्न सफल भएका छौ ।

१९ वर्षपछि पुन,सुरु भएको डिआइजिपी रनिङ कपमा अहिलेसम्म पुलिस स्कुल फाइनलमा पुग्न सकेको थिएन, उनले भने,'यस पटक फाइनलमा पुगेका छौँ । इतिहास रच्ने चरणमा छौ । दुवै टिम सक्षम छन्, जसले राम्रो खेल खेल्न सक्छ उसैले जित्नेछ ।'

डिआइजिपी कपका सल्लाहकार मनिका सुब्बा राईका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य लुकेर बसेका प्रतिभाशाली युवा खेलाडीलाई उजागर गर्नु हो । यस प्रतियोगिताबाट धेरै खेलाडी राष्ट्रिय स्तरसम्म पुगिसकेका छन ।उनले भने, डिआइजिपी कप एउटा इतिहास बोकेको प्रतियोगिता पनि हो, त्यसैले १९ वर्षपछि पुन ब्युँताएका हौ ।

प्रभात सेकेण्डरी बोर्डिङ स्कुलका प्रधानाध्यापक विष्णु राईले नेपाल पुलिस स्कुलजस्तो प्रतिष्ठित विद्यालयका टिमसँग फाइनल खेल्न पाउनु गर्वको विषय भएको बताए । पहिले धेरैले हाम्रो विद्यालय र विद्यार्थीलाई चिन्दैनथे,उनले भने, डिआइजिपी रनिङ कपले हाम्रो पहिचान बनाइदिएको छ । जितका लागि प्रयास गर्नेछौँ, तर फाइनलमा पुग्नु नै हाम्रो लागि ठूलो उपलब्धि हो ।

पछिल्लो समय युवा पुस्ताका लागि फुटबल मनोरञ्जन मात्र नभई करियर, स्वास्थ्य, प्रेरणा र सामाजिक सम्बन्धको महत्वपूर्ण माध्यम बन्दै गएको छ । धरानमा बुढासुब्बा गोल्डकप, गोधुली फुटबल क्लब, हाम्रो धरान, भेट्रान फुटबल, सुवास राई स्मृति कप, नगरपालिका महिला कपलगायत दर्जनौँ फुटबल प्रतियोगिता सञ्चालन भइरहेका छन । तीमध्ये डिआइजिपी रनिङ कपलाई एक उदाहरणीय प्रतियोगिताका रूपमा लिइन्छ ।

नेपाल पुलिस स्कुल धरानको आयोजनामा सम्पन्न सातौँ संस्करणको कोशी प्रदेशस्तरीय विद्यालय डिआइजिपी रनिङ कप फुटबल प्रतियोगितामा कोशी प्रदेशका १६ वटा टिम सहभागिता रहेको थियो, भने भोलि हुने फाइनल खेलको विजेता टोलीले ट्रफीसहित मेडल प्रमाणपत्र र नगद रु.८१ हजार ५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित मेडल प्रमाणपत्र र नगद रु.४१ हजार ५ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।  

फाइनल खेलमा प्रमुख अतिथी कोशी प्रदेश प्रहरी प्रमुख एवम् विद्यालय संरक्षक प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको उपस्थितिमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार