कोशी प्रदेशः बजेट बनाउने तयारीमा मुख्यमन्त्री, सरकार फेर्ने सुरमा कांग्रेस

मंगलबार, २६ बैशाख २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बजेट निर्माणको गृहकार्यमा लागिरहेका छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न थालिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका मुख्यमन्त्री कार्की मन्त्रालयहरु पुगिरहेका छन् । असार १ गतेभन्दा अगाडि नै बजेट ल्याउने तयारीमा उनी लागेका छन् । मुख्यमन्त्री बजेट निर्माणको तयारीमा जुटिरहदा प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारै फेर्ने रणनीतिमा लागेको छ । यसका लागि कांग्रेसका सांसदहरु केन्द्रीय नेतृत्व र सत्ता गठबन्धन दललाई दबाब दिन काठमाडौं पुगेका छन् । आइतबार कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठक काठमाडौंमै बसेको थियो । अनौपचारिक भनिएको बैठकमा १५ जना सांसद उपस्थित थिए । दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारबाटबाहिरिन पत्र पठाउने रसरकार परिवर्तनका लागि केन्द्रीय नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो । आइतबारै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र र जसपा दलका नेतालाई निर्णयबारे जानकारी गराएका थिए । कांग्रेसले सरकार परिवर्तन गर्ने तयारी गरेपछि मुख्यमन्त्री कार्की असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने तयारीमा जुटेका हुन् । अहिलेकै सरकारले बजेट ल्याउने माओवादी केन्द्रका मन्त्री पनि बताउँछन् । वन पर्यटन तथा बातावरण मन्त्री जीवन अचार्य अहिलेकै सरकारले बजेट ल्याउने तयारी गरेको बताउँछन् । बजेट निर्माणका लागि मन्त्रालय मार्फत योजना छनोटको काम अघि बढाएको उनको भनाई छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी असार १ गते भन्दा अगाडि बजेट ल्याउने तयारी भएको बताए । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेश सरकारका विषयमा केन्द्रीय नेतृत्वको निर्देशन पर्खिरहेको बताउँछन् । कोशी प्रदेशको अवस्था विशिष्ट रहेको बताउँदै उनले केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने बताए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । वर्तमान अवस्थाका दुवै गठबन्धनलाई बहुमत जुटाउन सहज छैन् । एमालेसँग नजिक रहेको राप्रपा सत्ता गठबन्धनमा आए मात्रै प्रदेशमा नयाँ सकार गठनका लागि सहज हुनेछ । ४० सिटको एमाले र ६ सिटको राप्रपासँग ४६ मत छ ।२९सांसद रहेको नेपाली कांग्रेस, सभामुख बाहेक १२ सांसद रहेको माओवादी केन्द्र, चारसांसद रहेको नेकपा एकिकृत समाजवादी र एक सांसद रहेको जसपाको पनि ४६ मत नै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार