म्याद थपेको थप्यै, अझै बनेन सडक

मंगलबार, २६ बैशाख २०८०
खोटाङ । उदयपुरको गाईघाटबाट खोटाङ जाने दिक्तेल सडकअन्तर्गत पर्ने फोक्सिङटार–सिम्पानी सडक खण्ड पटकपटक म्याद थप गर्दा पनि निर्माण सकिएको छैन । यसप्रति नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं कोशी प्रदेश संसदीयदलका प्रमुख सचेतक भुपेन्द्र राईले चासो व्यक्त गरेका छन् । उक्त सडक निर्माणका लागि देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभी निर्माण कम्पनीले २०७३ साउन ११ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा २०७७ साउन १० गते निर्माण कार्य सक्ने भनिएको थियो । सम्झौताअनुसार म्याद सकिएको तीन वर्ष भइसक्यो तर सडक जस्ताको तस्तै छ । यो बीचमा पटकपटक सम्झौताको समय पनि थप गरियो तर सडक बन्ने कुनै छाँटकाँट देखिएन । पटकपटक म्याद थप्दा पनि सडक निर्माण कार्यमा निर्माण व्यवसायीको चासो नदेखिएपछि ठेक्का सम्झौता गराउने कार्यालयले २०७९ पुस ८ गते कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध निर्माण व्यवसायीले उच्चअदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । उच्च अदालत पाटनले निर्माण व्यवसायीलाई काम गर्न दिनु र अनुगमन गर्नु भन्ने अन्तरिम आदेश २०७९ माघ ४ गते जारी गरेको थियो । प्रमुख सचेतक राईले भने ‘अदालतको आदेश भएको पनि ३ महिना २१ दिन भइसक्यो सडक बन्ने कुनै छाँटकाँट देखिएन । के खोटाङका नागरिकले कालोपत्रे सडक हेर्न शहरतिरै बसाइँ जानु पर्ने हो ? कि खोटाङेहरुका आँखा अलपत्र योजनामात्र हेर्न बनेका हुन् ?’ सचेतक राई उक्त योजनाबारे फैसला गर्ने उच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । धाप्लाङघाटको पक्की पुल निर्माण कार्य पनि अधुरो रहेकाले ताकेता गरिरहेको उनले बताए । धाप्लाङघाटको पक्की पुलको जिम्मा लिएका निर्माण व्यवसायी मोहन आचार्य र जयराम लामिछानेलाई भेटेर निर्माण कार्य चाँडो गर्न उनले आग्रह गरेका छन् । -नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं कोशी प्रदेश संसदीयदलका प्रमुख सचेतक भुपेन्द्र राई ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार