गाउँलेको पैसा ठगेर भागेकी पूर्वजनप्रतिनिधि भोजपुरबाट पक्राउ

शुक्रबार, २९ बैशाख २०८०
भोजपुर । सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो । विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत दिएर जिताएका जनतासँग रकम उठाउँदै ठगी गरेर भागेकी उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गतको मुद्दा चलाउन उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । विश्वकर्माले आफू जनप्रतिनिधि भएका बेला झुक्याउँदै सर्वसाधारणसँग लाखौं रूपैयाँ असुलेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘विभिन्न व्यवहारिक समस्या देखाएर आफ्नै वडाका सर्वसाधारणसँग रकम असुलेर फरार बनेको पाइयो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कतिपयलाई पैसा नभएको बैंक खाताको चेक काटेर दिएको पनि खुलेको छ ।’ उनका अनुसार विश्वकर्माबाट ठगिएका सर्वसाधारणको संख्या धेरै छ । तर, तीमध्ये २ जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । पटक–पटक बैंकमा जाँदा पनि उनको खातामा नभएकाले पैसा निकाल्न नपाएको र गलत चेक लिएर आफूहरुलाई झुक्याइएको भन्दै पीडितले बैंकबाट ‘चेक बाउन्स’ गराएका थिए । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा विश्वकर्माविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । भागेर काठमाडौं पुगेकी उनलाई सुटुक्क भोजपुरको दिंला आएका बेला प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं पुगेपछि सम्पर्कविहीन भएर उनी उतै लुकिछिपी बस्दै आएकी थिइन् । विश्वकर्माको खाता रहेको एनआईसी एसिया बैंकले कारोबार गर्न नपाउने गरी उनलाई कालोसूचीमा समेत राखिसकेको छ । सापटी भनेर लगेको पैसा लामो समयदेखि फिर्ता नगरेपछि पीडितहरु न्यायको खोजीमा थिए । भोजपुर प्रहरी प्रमुख डीएसपी शरद थापा क्षेत्रीले पीडितले दिएको जाहेरी र उपलब्ध प्रमाणका आधारमा पक्राउ गरेर विश्वकर्माविरुद्ध अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार केही समयका लागि भनेर ३ वर्षअघि लिएको रकम नतिरिकन विश्वकर्मा फरार बनेको पाइएको छ । उनी सम्पर्कविहीन बनेपछि पैसा सापटी दिनेहरु भने बिचल्लीमा परेका थिए । जनप्रतिनिधिले खाएको पैसा उठाइदिन माग गर्दै पीडितले नगरपालिका र वडा कार्यालयमा निवेदन पनि दिएका थिए । पीडितमध्येका भीमबहादुर तामाङका अनुसार नगरपालिका र वडामा लगभग डेढ वर्षअघि भएको छलफलमा उनले रकम फिर्ता गर्ने कवुल पनि गरिन् । ‘गाउँका मान्छेसँग ठूलो रकम उठाएकी विश्वकर्मा रकम फिर्ता गर्ने कवुल गरेर भागिन्,’ उनले भने, ‘त्यसपछि हामीले प्रहरीलाई गुहार्नुपर्ने अवस्था आयो ।’ तामाङका अनुसार आफ्नै टोलमा मात्रै प्रतिव्यक्ति एक लाखदेखि सात लाख रूपैयाँसम्म उठाएको पाइएको छ । जनप्रतिनिधि भएका बेला पैसा खाइदिएपछि गरिब गाउँलेको उठिबास हुने अवस्था आएको तामाङ बताउँछन् । स्थानीयका अनुसार वडासदस्य विश्वकर्माले विभिन्न सहकारी र अन्य संघसंस्थाबाट पनि लाखौँ रूपैयाँ ऋण लिएकी थिइन् । गाउँलेबाट ठूलो रकम ठगी गरेकी उनले सुरुमा प्रहरीबाटै संरक्षण पाएको तामाङ बताउँछन् । ‘त्यतिबेला बहालवाल जनप्रतिनिधि भएकाले प्रहरीले कारबाही अघि बढाउन चासो दिएन,’ उनी भन्छन्, ‘अहिले हामीले दिएको जाहेरीका आधारमा पक्राउ परेकाले न्याय पाउने आशा पलाएको छ ।’ खाइ–नखाइ दुःख गरेर कमाएको पैसा उठाएर विश्वकर्मा फरार बनेपछि धेरै जनाको बिल्लिबाठ भएको तामाङ बताउँछन् । पैसा फिर्ता माग्दा जनप्रतिनिधिको धामस देखाएर उल्टै धम्क्याउने गरेको उनको भनाइ छ । उनका अनुसार जनप्रतिनिधि भएकाले विश्वासमा परेर पैसा दिएका गाउँलेहरु त्यसपछि पीडा बेहोर्न बाध्य छन् । ‘सबैसँग पैसा उठाउँदै सिंगो गाउँलाई डुबाएर जनप्रतिनिधि भागेकी थिइन्,’ तामाङ भन्छन्, ‘पैसा नउठ्ने अवस्था आएपछि गरिबहरुको रुवाबासी चलेको थियो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार