विराटनगर । सरुवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।
सोमबार औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो ।
कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरेका थिए ।
मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताए ।
उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताइन् ।
कार्यपालिका सदस्यहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए ।
अधिकृत कोइरालाले आफ्ना लागि विराटनगर घर भएको बताए । उनले विराटनगरलाई आफूले कहिल्यै बिर्सन नसक्ने उल्लेख गरे ।
कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका हुन् ।
८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उनी आएका थिए ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ ।
प्रतिक्रिया