तेह्रथुम । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गरेका छन् ।
सोमबार भएको भ्रमणका क्रममा उनले कार्यालय भवन, सबै शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरेका थिए ।
त्यस क्रममा उनले आम नागरिकसँग सभ्य र शिष्ट भाषा प्रयोग गरी प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
असहाय, गरिब, पीडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पीर मर्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्नु मानवीय धर्म रहेको बताउदै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारी तथा भएका आदेश निर्देशनलाई अक्षरस पालना गर्नु पर्ने बताए ।
समाजमा शान्ति सुरक्षा स्थापना गर्ने प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउँदै बास्तोलाले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छविलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारीसाथ लागि पर्नुपर्नेमा जोड दिएका थिए ।
समाजमा शान्ति सुरक्षा कायम राख्न लागूऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत उनले निर्देशन दिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै दूरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउन लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने विभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया